लघुवित्तको ज्यादती बिरुद्ध गुलरियामा चर्को प्रदर्शन
बुधबार, फागुन १७, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १७ (फरकसमाचार) / लघुवित्तिय संस्थाहरुको ज्यादती बिरुद्ध गुलरियामा चर्को बिरोध तथा धर्ना प्रदर्शन गरिएको छ । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिको आयोजना मंगलबार चर्को बिरोध प्रदर्शन गरिएको हो । लघुवित्तिय संस्था खारेज गर, मान्छे मार्न पाइदैन, हत्यारा लघुवित्तिय संस्था चाहिदैन भन्ने चर्को नाराबाजीसमेत प्रदर्शनकारीले गरेका थिए ।

पछिल्लो समय लघुवित्तिय संस्थाहरुको ज्यादतीले समाजका महिलाहरुमा त्रास छाएको छ । किस्ता नभएपछि आफ्नो ज्यान जोखिममा राखेर दिनभरि वनजंगलमा लुक्ने र साँझ घर आउन बाध्य भएका छन् । लघुवित्तको ज्यादतीले महिलाहरुको घर भाँडिने, आत्म हत्या गर्ने जस्ता समस्या देखा परेको छ । यस समस्याले जकाडिएका पिडितले लघुवित्त बिरुद्धमा आवाज उठाईरहेका छन् ।

लघुवित्तिय संस्थाहरुको ज्यादतीले राज्यभरि १ हजार ६ सय ३ महिलाहरुले ज्यान गुमाएको संघर्ष समिति गुलरियाका उपाध्यक्ष राजेश कुर्मीले बताए । ‘लघुवित्तको त्रासले कति महिला दिदी बहिनीहरुले घरबार छोड्न बाध्य भएका छन्’ उपाध्यक्ष कुर्मीले भने, ‘लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरुद्धमा हामी उत्रेका छौं ।’ अब लघुवित्तिय संस्थाहरुको ज्यादतीले कोही दिदीबहिनीहरुले ज्यान गुमाउँनु पर्ने वातावरण सिर्जना हुन दिने छैनौं । जबसम्म हाम्रो मागलाई सरकारले सम्बोधन गर्दैन तबसम्म हाम्रो आन्दोलन स्थगित नहुने उपाध्यक्ष कुर्मीले जनाए ।

सरकारसंग पाँच बुँदे माग राख्दै मंगलबार जिल्ला प्रशासन अगाडि बिरोध तथा धर्ना प्रदर्शन गरिएको छ । नव सामान्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर र सामाजवादी अर्थतन्त्रको विकास गर भन्ने माग राख्दै प्रदर्शनमा उत्रिएका छन् । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिको आयोजनामा निकालिएको ¥याली गुलरिया बजार परिक्रमा गरि जिल्ला प्रशासन अगाडि कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय