प्रचण्डले बोलाए मधेस प्रदेशका माओवादी नेतालाई काठमाडौँ
आइतबार, फागुन २१, २०७९ मा प्रकाशित

काठमाडौँ, फागुन २१ / नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि काठमाडौँ बोलाएको छ । मधेस प्रदेशमा लामो समयदेखि पार्टीमा देखिएको विवादलाई समाधान गर्न माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका हुन् ।

फागुन २६ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मधेस प्रदेशका लागि केन्द्रीय सदस्यको जिम्मेवारी तोक्नुका साथै प्रदेश र जिल्लाको संगठन निर्माणको कार्य पनि हुने बताइएको छ । माओवादी केन्द्रको मधेस प्रदेश कमिटी अहिले इन्चार्जको भरमा मात्र चलिरहेको छ । प्रदेश र जिल्लामा इन्चार्ज मात्र छन् । कुनै कुनै जिल्लामा अध्यक्ष तोके पनि क्रियाशील देखिएका छैनन् । ती सबै विषयमा छलफल हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वर राय यादवले बताए ।

त्यो बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले स्वयं सम्बोधन गर्ने जनाइएको छ । अन्य प्रदेशको तुलनामा मधेसमा माओवादी केन्द्रको संगठन निकै बिग्रेको छ । पार्टीको आन्तरिक विवादका कारण गत चुनावमा माओवादी केन्द्रले राम्रो नतिजा ल्याउन सकेन । मधेसमा देखिएको पार्टीको विवाद मिलाउन पटक पटक प्रयास भएको हो । केन्द्रबाट नेताहरूलाई खटाउने काम भए पनि समस्या जस्ताको त्यस्तै रहेको गुनासो भइरहेको छ । लामो प्रयासपछि पनि समस्या समाधान नहुँदा अध्यक्ष प्रचण्ड स्वयंले हस्तक्षेप गर्न लागेको पार्टीका एक केन्द्रीय सदस्यले बताए ।

२०७९ को स्थानीय चुनावमा मधेस प्रदेशमा माओवादीले मधेसका १३६ स्थानीय तहमध्ये नौ ठाउँमा मात्रै जितेको छ । सात वटा नगरमा मेयर र दुई गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, पाँच नगरमा उपमेयर र चार गाउँपालिकामा माओवादीबाट उपाध्यक्ष चुनिएका छन् । १३९ वडाध्यक्ष, १४० महिला सदस्य, १३४ दलित महिला सदस्य र २४९ सदस्य जितेका छन् । सबै गरेर मधेसमा माओवादीका ६८० जनप्रतिनिधि छन् ।

तर त्यही माओवादीले २०७४ को स्थानीय चुनावमा मधेस प्रदेशको २१ स्थानीय तहमा प्रमुख जितेका थिए । जसमा मेयर १३ र आठ अध्यक्ष थिए । त्यस्तै, १८ उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, आम चुनावमा पनि माओवादी केन्द्रले २०७४ को तुलनामा कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीले प्रतिनिधिसभामा पाँच सिट जितेकामा यसपटक प्रतिनिधिसभामा एक र प्रदेशसभामा ६ सिटमात्र जितेको छ । यसरी मधेसमा माओवादी कमजोर हुनुमा नेताहरू बीच गुटबन्दी नै मुख्य कारण देखिएको नेताहरू बताउँछन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय