जनशक्ति खोज्न र रोज्न एक दिने रोजगार मेला
आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

ठाकुरबाबा नगरपालिकाको छैठौं स्थापना दिवस

बर्दिया, फागुन २८(फरकसमाचार) / ठाकुरबाबा नगरपालिकाले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा रोजगारीको खोजीमा रहेका स्थानीय जनशक्ति र रोजगारदातालाई एक ठाउँमा उपस्थित हुने गरि मेला गरेको छ । शनिबार सम्पन्न भएको ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ले रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई प्रत्यक्ष रुपमा भेटघाट गराएको हो ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा आयोजना गरिएको एक दिने वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा, सीपमुलक तालीम दिने संस्थाहरुको प्रदर्शनी, तालिमबारे जानकारी गराईएको छ ।

पानसमा बत्ति बालेर लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’को उद्घाटन गरेका थिए । मेलाले स्थानीयलाई सहयोग पुग्ने तिमिल्सिनाले बताए । ‘सीपको खोजीमा भौतारिएका बेरोगजार युवालाई मेला अवसर बन्नेछ’ प्रदेश सभा सदस्य तिमिल्सिनाले भने,‘यस मेलाले बेरोजगार व्यक्तिलाई रोजगार र रोजगारीदातालाई दक्ष जनशक्ति उपलब्ध गराउने छ ।’ उनीहरुको भेटघाटले पक्कै पनि रोजगारी खोज्न र रोज्न मद्दत गर्ने विश्वास तिमिल्सिनाले व्यक्त गरे ।

विस २०७३ साल फागुन २७ गते ठाकुरबाबा नगरपालिका स्थापना भएको अवसरमा नगरपालिकाले ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ आयोजना भएको नगर प्रमुख तिलकराम लम्सालले बताए । नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई मेलालले सहयोग पु¥याउने छ । ‘समुन्नत ठाकुरबाबा, सबल नगरबासी’ नारासहित नगरभित्रका जनशक्तिलई स्थानीय उद्योग, व्यवसाय, बैँकिङ, पर्यटन, होटल व्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउने उदेश्यले ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ आयोजना गरिएको लम्सालको भनाई रह्यो ।

मेलामा रहेका २५ वटा स्टल मध्ये अधिकांश स्टल स्थानीय उत्पादनसंग जोडिएका थिए । आफ्नो योग्यता अनुसार कस्तो सिप चाहिएको मेलामा रहेका स्टलले व्यापक जानकारी दिएका छन् ।

हस्तकला बिक्री स्टलमा राखिएका आकर्षक सामानले जो कोहीको ध्यान तानेको थियो । त्यसैगरी मेलामा पेशागत कुक उत्पादन गर्ने तालीमका स्टलको प्रदर्शनी थियो । गाईड, वईटर, कुक, होटल मेनेजर जनशक्ति लिनको लागि होटेल व्यवसायी संघले स्टल राखेको थियो । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्न बिउ, दिगो तथा सम्मानित रोजगारको लागि सीप परियोजना, अर्गनिक तोरी तथा चिउरीको मह, स्थानीय क्षेत्रका विद्यालयमा पढ्दै कमाउदै, बाँस र बेत प्रयोग गरि हस्तकलाबाट बनाईने सामानको सीप दिने स्टल राखिएका थिए । त्यस्तै रोजगार सम्बन्धी जानकारी, रोजगारदातासंग प्रत्यक्ष सम्पर्क र रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरुको प्रदर्शनी, वृहत रक्तदान कार्यक्रमसमेत भएको थियो ।

मेलामा लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उप–प्रमुख बिना कुमारी भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सहायक प्रजिअ रमेश पाण्डेय, प्रहरी उपरीक्षक सुधिर राज शाही र सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाहीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर