बर्दिया, चैत ८ (फरकसमाचार) / युवतीहरुलाई उद्यमी बनाउने उदेश्यले पाँच दिने क्षमता अभिबृद्धि तालिम सुरु गरिएको छ । मधुवन नगरपालिका अन्र्तगतका १८ देखि २४ वर्षका १५ जना युवतीहरुलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु गरिएको हो । सोमबार देखि सुरु भएको जीवन उपयोगी सिप सम्बन्धि क्षमता अभिबृद्धि तालिम शुक्रबारसम्म चल्नेछ ।
तालिमको उद्घाटन मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले गरेकी थिईन् । प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्युनिकरण परियोजनाले जीवन उपयोगी सिप सम्बन्धि क्षमता अभिबृद्धि तालिम संचालन गरेको छ ।
मधुवन नगरपालिका अन्र्तगत २८ जना युवतीहरुको आवेदन परेको थियो जसमा १५ जना तालिमको लागि छनौट भएको बालविवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाईजर सुनिता चौधरीले बताईन् । ‘आर्थिक रुपले कमजोर, दलित र समाजिक रुपमा विभेदमा परेका युवतीहरुलाई छनौट गरिएको छ’ फिल्ड सुपरभाईजर चौधरीले भनिन्,‘उहाँहरुलाई एक वर्ष भित्र सफल उद्यमी व्यवसायी बनाउने उदेश्यले सुरुमा जीवन उपयोगी सीप तालिम दिन सुरु भएको छ ।’
जीवन उपयोगी सीप तालिममा सहभागीहरुको परिवारिक स्थिती बुझ्ने र सकारात्मक सिकाईको लागि तयार गरिन्छ । यस पछि पाँच दिने व्यवसायिक सीप विकास तालिम हुन्छ । त्यसपछि ३ सय ९० घण्टाको छोटो अवधिको सीप विकास तालिम संचालन हुन्छ । सीप विकास तालिम पछि सहभागीहरु पुर्ण रुपमा उद्यमी वा व्यवसायी बन्नेछन् । मधुवन नगरपालिका अन्र्तगत पेन्टिङ, मेसन, दूध डेरी, प्लम्बिङ र सुरक्षा गार्ड तालिम रहेको थियो । जसमा सहभागीहरुले दूध डेरी र सुरक्षा गार्ड तालिम छनौट गरेको फिल्ड सुपरभाईजर चौधरीले जानकारी दिईन् ।