बाघको आतंक बढ्दो, वन जंगल प्रवेश नगर्न अनुरोध
बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित

बर्दिया, चैत ९ (फरकसमाचार) / मधुवन नगरपालिका अन्र्तगत खाता जैविक मार्ग क्षेत्रमा पछिल्लो समयमा बाघको आतंक बढ्दै गएको छ । मधुवन नगरपालिका–१,२,३,४ र ५ का वस्तीहरुमा बाघको आतंक बढ्दै गएको हो । बाघको आतंक बढिरहेकोले वन जंगल प्रवेश नगर्न सर्वसाधारणलाई सम्बन्धि निकायले अनुरोध गरिरहेको छ । वतस्तीहरु सामुदायिक वन तथा निकुञ्जसंग जोडिएका छन् ।

केही दिनयता पाटे बाघले घरपालुवा पशुचौपायालाई शिकार बनाउने क्रम निरन्तर भईरहको छ । स्थानीयहरु बस्ती नजिकको वनमा घाँस दाउरा लिन जाँदा बाघको आक्रमणमा पर्ने गरेका छन् । गत सोमबार दाउरा लिन गएको बेला बाघको आक्रमणमा परि दुई महिलाको ज्यान गएको थियो । मधुवन नगरपालिका–५ की ५५ वर्षिय समुन्द्री बुढा क्षेत्री र ५० वर्षिय धनसरी गरुङको सोमबार बाघ आक्रमणबाट ज्यान गएको हो । चिरौटे सामुदायिक वनमा बाघले आक्रमण गरि दुवै जनाको ज्यान लिएको थियो ।

खाता जैविक क्षेत्र अन्र्तगतका स्थानमा घाईते बाघ र अन्य बाघ निरन्तर देखा परिरहेको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘बाघले भर्खरै दुई जनाको ज्यान लिईसकेको छ’ प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने,‘खाता जैविक क्षेत्र आसपास निरन्तर देखिएकोले वन जंगल प्रवेशमा रोक लगाएका छौं ।’ पाँच दिनसम्मका लागि वन क्षेत्रमा घाँस, दाउरा र पशु चौपाया चराउन नजान सर्वसाधारणलाई अनुरोध गरेका छौं । साथै यस जैविक मार्ग भएर यात्रा गर्दा विषेश सावधानी अपनाउनसमेत अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

अन्तराष्ट्रिय खाता जैविक मार्ग प्रयोग गरि वन्यजन्तु आवतजावत गर्छन् । खाता जैविक मार्ग भएर निकुञ्जका वन्यजन्तु भारतीय कतर्नियाघाट वन्यजन्तु आरक्षमा जाने र भारतीय आरक्षबाट नेपाली निकुञ्जमा ओहर दोहर गर्छन् । यस क्षेत्रमा वन्यजन्तुको सधैं चहल पहल हुनेभएकोले यात्रा गर्दा सावधानी अपनाउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय