बर्दियामा आठ महिनामा ३ सय ९४ नयाँ क्षयरोगी थपिए
शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित

बर्दिया, चैत १० (फरकसमाचार) / चालु आर्थिक वर्षको आठ महिनामा ३ सय ९४ जना नयाँ क्षयरोगी थपिएका छन् । चालु आर्थिक वर्षको साउन देखि फागुनसम्म ३ सय ९४ जना नयाँ क्षयरोगी थपिएका हुन् । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा जिल्लाको क्षयरोगको स्थिती जनाईएको छ ।

साउन देखि पुससम्म छ महिनामा ३ सय ४ जना र फागुनसम्म आठ महिनामा ३ सय ९४ जना नयाँ क्षयरोगी पुष्टि भएको तथ्यांक छ । त्यसैगरी आठ महिनामा ५ जनाको क्षयरोगको कारणले मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियामा रेकर्ड छ । अघिल्लो आर्थिक वर्षमा ७ सय ९२ जना नयाँ क्षयरोगी भेटिएका थिए र क्षयरोगका कारण २३ जनाको ज्यान गएको प्रस्तुतिकरणमा स्वास्थ्य कार्यालय क्षयरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जनाए ।

‘गत आर्थिक वर्षमा क्षयरोग संक्रमितको निको हुने दर ९३.६५ प्रतिशत थियो’ फोकल पर्सन रजौरेले भने,‘चालु आर्थिक वर्षमा क्षयरोग संक्रमितको निको हुने दर बढेर ९६ प्रतिशत पुगेको छ ।’ जेष्ठ नागरिकमा बढी क्षयरोग देखिने प्रस्तुतीकरणका क्रममा फोकल पर्सन रजौरेले जानकारी दिए । क्षयरोग जनजातीमा बढी देखिएको जनाए । जनजातीमा ६१, बाहुन क्षेत्रीमा २२, मधेशीमा ९, मुस्लिममा ४ र अन्यमा ४ प्रतिशत क्षयरोग भेटिएको तथ्यांक देखाए ।

सन् २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने परिकल्पना लिएर राष्ट्रिय क्षयरोग कार्यक्रम संचालन भईरहेको छ । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सरुवा रोग हो । दुई हप्ता वा सो भन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, साँझपख हल्का ज्वरो र पसिना आउनु, खाना खान मन नलाग्नु, तौल घटनु खकारमा रगत देखिनु, छाती दुख्नु र सास फेर्न गाह्रो हुनु क्षयरोगका लक्षण हुन् । यस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । क्षयरोगको औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । चिकित्सकको सल्लाहमा लगातार ६ महिनासम्म औषधी खाए क्षयरोग निको हुन्छ ।

नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी हुने गरेको जनाईएको छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरु थपिने र करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय