बालबालिकाको सपना परियोजनाले बालबालिकालाई निरोगी बनाउँदै
बुधबार, चैत १५, २०७९ मा प्रकाशित

बर्दिया, चैत १५ (फरकसमाचार) / ठाकुरबाबा नगरपालिका–४ खैलारकी ४७ वर्षिय पार्वती चन्द नाती हुर्काउन व्यस्तछिन् । नातीहरुको हेरचाहमा उनको दैनिकी चलेको छ । पार्वती चन्दको दुई नाती छन् । ठुलो नाती ७ वर्षिय अदिप चन्द र सानो नाती १५ महिनाका अंकुश चन्द छन् । सानो नाती अंकुशले दूध खाने र राती सुत्ने बेला मात्र आमालाई खोज्ने गरेको चन्दले बताउँछिन् । आमाको भन्दा बढी लगाब हजुरआमासंग रहेको चन्दले सुनाउँछिन् । दुई वटै नातीहरु हुर्काउने जिम्मेवारीमा खटिएकी चन्दले धेरै फरक पाएको बताएकी छिन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजनाको प्रभावले सानो नातीहरुमा निकै फरक देखिएको चन्दले बताईन् । ‘ठुलो नातीको पालामा बालबालिकाको सपना परियोजना संचालनमा थिएन’ चन्दले भनिन्,‘हामीलाई पनि त्यति ज्ञान नभएरै नाती रुने बितिकै जंकफुड किन्न पसल पुग्थ्यौं ।’ ठुलो नातीलाई त्यहि बानी प¥र्यो । ठुलो नाती रुने बितिकै जंकफुड किन्ने खुवाउँने ग¥र्यो । त्यसैले ठुलो नाती समय समयमा बिरामी हुन्थ्यो । तर, सानो नातीको पालामा ठाकुरबाबा नगरपालिकाको सबै वडामा बालबालिकाको सपना परियोजना संचालनमा थियो । आमा समूह मार्फत कहिले बुहारी त कहिले मलाई परियोजनाको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो ।

परियोजनाले बालबालिकाको वृद्धि विकासको लागि सिकाएको कुरा हामीले व्यवहारमा उता¥यौं । जसको प्रभाव सानो नातीमा परेको चन्दले जानकारी दिईन् । सानो नाती अंकुश १५ महिना पुरा भयो । तर, उसलाई जंकफुड के हो थाहा छैन । नाती अंकुशलाई हामीले पसलमा पाईने जंकफुड खुवाएका छैनौं । जसले गर्दा अंकुश धेरै बिरामी पनि हुदैन । उसलाई पसलका जंकफुडको बारेमा थाहा छैन । ‘घरमा पाँहुना आउँदा ल्याईदिएको बिस्कुटसमेत अंकुशले खादैन’ चन्दले भनिन्,‘एकछिन बिस्कुट खेलाउँछ त्यसपछि मिल्काईदिन्छ ।’ आमाको दूध र पौष्टिक आहारको लागि घरमा बनाएको लिठो जाउँलो इत्यदि खुवाउने गरेको चन्दले सुनाईन् ।

ठाकुरबाबा नगरपालिका–४ खैलारकी २९ वर्षिय अस्मिता शाहीलाई बालबालिका हुर्काउन धेरै सहज भएको छ । नातीहरुको हेरचाहमा सासुआमाले मुख्य जिम्मेवारी निभाएपछि शाहीलाई सहज भईरहेको छ । भोकाएपछि र सुत्न खोजेपछि मात्र अंकुशले आमा खोज्ने गरेको शाहीको भनाई छ । अंकुशको बुवा धिरज चन्द सुरक्षाकर्मी पेसामा छन् ।

बालबालिकाको सपना परियोजनाले अभिभावकहरुको व्यवहारमा धेरै परिर्वतन ल्याईसकेको ठाकुरबाबा नगरपालिका–४ खैलाकी महिला स्वयमसेविका दुर्गा बिष्टले बताईन् । ‘आजभोलि अभिभावकहरुले आफ्नो बालबालिकाको धेरै ख्याल राख्छन्’ स्वयमसेविका बिष्टले भनिन्,‘जंकफुडले बच्चालाई नोक्सान गर्ने कुरा थाहा पाएपछि अभिभावकले घरमै पकाएको खुवाउँने गरेकाछन् ।’ जसले गर्दा बच्चा बिरामी हुने संख्या पनि कम भेटिन्छ । पहिला पसलका जंकफुड खाएका बच्चा भन्दा अहिले घरको लिटो जाउँलो खाएका बच्चाहरु स्वस्थ्य, हिष्टपुष्ट र लोभ लाग्दाछन् । त्यसैगरी पहिला महिलाले मात्र बच्चा हुर्काउने जिम्मेवारीमा हुन्थे भने अहिले बुवाहरुलगायत सिङ्गो परिवार नै बच्चा हुर्काउन सघाईरहेको छ । पहिला आफ्नो एरियाको स्वास्थ्य चौकीमा गर्भवती जाँच गराउने समयमा बुवाहरु देखिन्थेनन् । तर, आजभोली गर्भवती जाँच गराउने समयमा बुवाहरुको सहभागिता बाक्लिदै गरेको स्वयमसेविका बिष्टले जानकारी दिईन् ।

बालबालिकाको सपना परियोजनाले अभिभावकमा व्यापाक परिर्वतन ल्याएको थारु महिला उत्थान केन्द्रकी सहजकर्ता उमा पौडेलले बताईन् । ‘परियोजनाले बालबालिकालाई बजारमा किनेका चिज भन्दा आफ्नै खेतबारीमा उत्पादन गरेको पोसिलो चिजहरु खुवाउँन सिकाएको छ’ सहजकर्ता पौडेलले भनिन्,‘आजभोलि अभिभावकले करेसाबारीमा ताजा तरकारी, साग, गेडागुडीजन्य र फलफुलजन्य उत्पादन गरेका छन् ।’ यसरी परियोजनाले अभिभावकहरुलाई कृषि र पशुमा आधारित पनि बनाईरहेको छ । अभिभावकले मेहनत परिश्रम गरेर पोसिलो खाने कुरा घरमै उत्पादन गर्दा बालबालिकाहरुले अभिभावकको परिश्रम प्रत्यक्ष रुपमा देखेर धेरै कुरा सिक्छन् । ‘काठमाडौंमा बस्ने बालबालिकालाई दूध कहाँबाट आउँछ भनेर सोध्दा ट्याङ्करबाट आउँछ जवाफ दिन्छन्’ सहजकर्ता पौडेलले भनिन्,‘तर यहाँका स्थानीय बच्चाहरुले प्रत्यक्ष देख्खन् दूध दुहेको ।’

बालबालिकाको बृद्धि र विकासको लागि आवश्यक कुरा थाहा पाएपछि अभिभावकले स्याहार र हेरचाहमा विषेश ध्यान दिईरहेको बालबालिकाको सपना परियोजनाका संयोजक बिनय कुमार थारुले बताए । बालबालिका हुर्काउन महिलाको मात्र जिम्मा हो भन्ने मानसिकता हराउँदै गएको छ । आजभोली बालबालिका हुर्काउनमा पुरुषको सहभागिता ह्वातै बढेको छ । ‘आजभोली बालबालिकाको स्वास्थ्य जाँच गराउन आउनेमा बुवाहरुको सहभागिता बढेको देखिन्छ’ संयोजक थारुले भने,‘जुन पहिला एकदमै न्युन थियो ।’ पहिला बालबालिकाको जाँच गराउन आमाहरु मात्र बच्चालाई स्वास्थ्य चौकी लिएर आएको देखिन्थ्यो । परियोजनाले सफलता पाईरहेको संयोजक थारुले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर