सालक संरक्षणमा ध्यान नदिदाँ देखिन छाड्यो
सोमबार, चैत २०, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, चैत २० / सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ । सालक बिगत दशक देखिरहने गरेको थियो । तर बर्दियामा पहिला सालक देखिए पनि हाल सालक देखिन छाडेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख वन अधिकृत प्रवीण बिडारी बताउँछन् । बर्दियामा सालक सम्बन्धि अध्ययन पनि नगरिएको र सात बर्ष पहिले सालक देखिएको तथ्याङ्क रहेको तर, त्यसपछि हालसम्म सालक कहि पनि नदेखिएको समेत वन अधिकृत बिडारीले जनाए ।

लजालु र कसैलाई नोक्सानी नपुर्याउने सोझो वन्यजन्तु सालक मानिन्छ । चोरि सिकारी वासस्थान विनासका कारण लोपोन्मुख यो स्तनधारी जीवलाई जोगाउन नेपालसहित विश्वभरिका संरक्षणकर्मी चिन्तित रहेका छन् ।

एसिया र अफ्रिकामा सालका ८ प्रजाति अस्तित्वमा छन् । तर, प्रत्येक दिन संसारभर ३ सय वटा सालक मारिने अनुमान छ । नेपालमा कालो खबटा भएको चाइनिज प्याङ्गोलिन र फुस्रो खबटा भएको इन्डियन प्याङ्गोलिन पाइन्छ । तीमध्ये चाइनिज प्याङ्गोलिन विश्वकै अति संकटापन्न सूचीमा पर्छ । नेपालमा पाइने स्तनधारी मध्ये यो एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति संकटापन्न वन्यजन्तु हो ।

बर्दियामा ७ बर्ष अघि साबिक मधुवन नगरपालिका ७ गंगाबस्तीमा डिभिजन वन कार्यालय बर्दियाले एक सालक उद्धार गरेको थियो । तर सो उद्धार गरिएको सालक बर्दिया राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी द्रोणराज शर्माले बताए ।

वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ ।
सालक एकदमै कम देखिने स्तनधारी वन्यजन्तु रहेको र बर्दिया राष्ट्रिय निकुञ्जमा सालक एकदमै कम देखिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।

नेपालमा कालो सालक र तामे सालक मात्र पाइने गरेको छ । सालकलाई संकटापन्न सूचीमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा तथ्याङ्क नरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) बर्दियाका प्रमुख डा. रविन कडरियाले बताए । ‘सालक जमिन खनेर माटो भित्र बास बस्ने र रातको समयमा आहारका लागि बाहिर आउने हुनाले स्थानीयले अलि कमै देखिने गरेको छन्’ प्रमुख डा. कडरियाले भने,‘बर्दियामा सालकको तथ्याङ्क र अध्ययन नगरिएकोले सालकको अवस्था ठ्याक्कै भन्न सकिदैन ।’

सालक विषेशगरी भारत, चीनलगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्णभूभागमा पाइन्छ । सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु समेत खाएर नियन्त्रण गर्दछ । सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ ।
सालक विश्व मै बढी चोरी सिकार हुने प्रजाती मध्ये एक हो । सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजार देखि १ लाखसम्म जरिवानासहित दण्ड सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय