बर्दिया, चैत २१ (फरकसमाचार) / स्थानीय सुचनामा महिलाहरुको पहुँच कसरी बढाउने विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । गुलरिया नगरपालिकाको आर्थिक सहयोग र सञ्चारीका समूहको आयोजनामा सोमबार अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
विषेश गरि पिछाडिएका मधेसी, मुस्लिम र दलित महिलाहरुलाई सुचनाको हक अधिकारको बारेमा जानकारी दिएर कसरी स्थानीय सरकारसंग जोड्न सकिन्छ अभिमुखीकरणमा प्रशिक्षण दिईएको छ । महिलाहरुको लागि संविधानले के कस्ता हक अधिकार दिएको छ । स्थानीय सरकारबाट कसरी सुचना प्राप्त गर्ने । कुन माध्यमबाट सुचना प्राप्त गर्ने विषयमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा व्यापाक छलफल गरिएको छ ।
चुलोचौको र घरायसी कामले हामी महिला पछाडि परेको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् । ‘बच्चा नरोएसम्म आमाले दूध खुवाउँदैन’ उप–प्रमुख गौतमले भनिन्,‘अब हामी महिला चुप लागेर बस्नु हुदैन, आफ्नो हक अधिकारको लागि खुलेर बोल्नुपर्छ ।’ यदि संविधानमा नलेखेको भए पालिकाको उप–प्रमुखमा महिला देख्न पाईदैनथियो । अब हामी महिलाहरु घरमा मात्र सिमित हुनुहुदैन । घर बाहिर स्थानीय सरकारले गरेको विकास निर्माण कार्यको बारेमा महिलाहरु बुझ्न आवश्यक रहेको उप–प्रमुख गौतमले सुनाईन् ।
अभिमुखीकरण कार्यक्रमले महिलाहरुलाई सुचनाको हकको बारेमा जानकार बनाउने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए । ‘स्थानीय सरकारले महिलाहरुको लागि कार्यक्रम छुट्याएको हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत शाहले भने,‘स्थानीय सरकारको कार्यक्रमको बारेमा कुन माध्यम, कसरी सुचना प्राप्त गर्ने अभिमुखीकरणले सिकाउँनेछ ।’
न्यायीक समित र महिला तथा बालबालिका सम्बन्धि गुलरिया नगरपालिकी उप–प्रमुख गौतमले अभिमुखीकरण कार्यक्रममा सहभागि महिलाहरुलाई प्रशिक्षण दिएकी थिईन् । त्यसैगरी गुलरिया नगरपालिकाको सुचना प्रर्वाह सम्बन्धि सुचना प्रविधि अधिकृत अजय सिंह ठाकुर र सुचना के हो भन्ने बारेमा पुष्पा चौधरीले प्रशिक्षण दिएको सञ्चारीका समुहकी उपाध्यक्ष मेनका चौधरीले जानकारी दिईन् ।
अभिमुखीकरण कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष येम घिमिरे, पत्रकार कमल पन्थीलगायत गुलरिया नगरपालिकाको १२ वटै वडाका महिला अगुवाहरुको सहभागिता रहेको थियो ।