वनको क्यामरामा नपरेको चितुवा निरन्तर आक्रमण गर्दै
बुधबार, चैत २२, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, चैत २२ (फरकसमाचार) / विगत सात महिना देखि बस्तीमा पल्केको चितुवा निरन्तर आक्रमण गरिरहेको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरालगायतका बस्तीमा विगत लामो समयदेखि चितुवाले घरपालुवा जनावरलाई निरन्तर शिकार बनाउँदै आएको हो । चितुवाको मुभमेन्ट अध्ययन गर्न डिभिजन वन कार्यालयले गत माघ १० गते चार वटा क्यामरा जडान गरेको थियो । तीन रात राखेको क्यामरामा चितुवा नपरेको वन कार्यालयले जनाउँदै क्यामरा लगेको थियो । तर, चितुवाको आक्रमण नरोकिएको स्थानीय बताउँछन् । दुई तीन दिनकै अन्तरमा चितुवा बस्ती पस्ने गरेको स्थानीयको भनाई छ ।

बस्तीमा पल्केको चितुवा पछिल्लो समय गुलरिया नगरपालिका–८ को सर्जुनदी टपरा टोल, आशापुर र वडा नंम्बर ७ को गुलरिया गाउँ बजारसम्म पुग्ने गरेको छ । बस्तीका घरपालुवा कुकुर, गाई र बाख्रालाई शिकार बनाईरहेको छ । भारतीय जंगल मुर्तिहाबाट निस्कने चितुवा उखुबारी हुँदै आउने र कहिले काही उखुबारीमै बास बस्ने गरेको छ ।

गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा टोलका बलु दर्जीले घरमा पालेको दुई वटा कुकुर मध्ये एउटा कुकुरलाई सोमबार राति चितुवाले शिकार बनाएको छ । सेतो कुकुरलाई चितुवाले घर देखि करिव ५ सय मिटर पर झाडीमा लागेर खाएको दर्जीले बताए । ‘बिगत लामो समय देखि बस्तीका घर पालुवा जनावरलाई चितुवाले शिकार बनाईरहेको छ’ दर्जीले भने,‘अब बालबच्चालाई जोगाउँन गाह्रो भईसक्यो ।’ किनेर ल्याएको लोभलाग्दो कुकुर चितुवाले खाईदिदाँ दर्जी चिन्तित भएका छन् ।

गत असोजमा सोही टोलकी लक्ष्मी बाँडियाको खोरमा बाँधिएको बाख्रा निकालेर खाएको थियो । बस्तीको बाख्रा खाएर शिकारको उद्घाटन गरेको चितुवाले निरन्तर बस्तीका घरपालुवा जनावरलाई शिकार बनाईरहेको छ ।

बस्तीमा पसेर चितुवाले निरन्तर आक्रमण गरिरहेको इन्ताज सिद्दिकीले बताए । सम्बन्धित निकाय मौन छ । सधैं घरपालुवा जनावरलाई आक्रमण गर्ने चितुवाले बालबालिकालाई आक्रमण गर्न सक्ने खतरा बढेको सिद्दिकीले जनाए । ‘घरमा पालेको जनावरलाई आक्रमण गरि बेपत्ता बनाउँदा खोज्दा छेदबिच्छेद अवस्थामा भेटिन्छ’ सिद्दिकीले भने,‘छाडा कुकुर र गाई चितुवाले कतियौं खाईसक्यो ।’ पछिल्लो समय टोलमा देखिने छाडा कुकुरको संख्या कम भईसकेको उनले जानकारी दिए ।

बर्दियामा बन्यजन्तु र मानव बिच द्वन्द्व रहेको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । ‘मानव र वन्यजन्तु बिचको सहअस्तित्व कायम गर्नु बाहेक कुनै उपाय छैन’ प्रमुख बिडारीले भने,‘बन्यजन्तुको फ्रि मुभमेन्ट हुन्छ ।’ वन्यजन्तुबाट बच्न घर वरिपरिका झाडी सफा गर्ने र बत्ति बाल्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर