बढैयातालका अशक्त अपांगता भएका व्यक्तिले घरमै सेवा पाउने
शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, चैत २४/  बढैयाताल गाउँपालिकाका अशक्त अपांगता भएका ब्यक्तिले घर दैलोमा परिचय पत्र पाउने भएका छन् । अशक्त अपांगता भएका ब्यक्तिको लागि परिचय पत्रको सेवा घर दैलोमा उपलब्ध गराउने अपांगता परिचय पत्र बितरण समन्वय समितिले निर्णय गरेको हो ।

दुर दराजमा रहेका सेवाको पहुँच भन्दा टाढा भएका पूर्ण अशक्त र अति अशक्त अपांगता भएका ब्यक्तिको लागि परिचय पत्रको सेवा घर दैलोमा उपलब्ध गराउने उद्देश्यले सो निर्णय गरिएको हो । चिकित्सकसहित समितिका सदस्य अशक्त असहाय अपांगता भएका ब्यक्तिको घरमा पुगेर अवस्थाको बिश्लेषण गरि सहज र सरल रुपमा परिचय पत्र उपलब्ध गराईने समन्वय समितिका संयोजक तथा पालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले बताईन।

असहज अवस्थामा रहेका पूर्ण तथा अति अशक्त अपांगता भएका ब्यक्तिको पहिचान गरेर प्रत्येक तिन महिनाको एक पटक घरमै परिचय पत्रको सेवा प्रदान गर्ने, अपांगता परिचय पत्र बितरण प्रक्रियालाई सहज र सरल बनाउन अभिमुखिकरण कार्यक्रम गर्ने लगाएतको निर्णय गरेको महिला शाखाकी प्रमुख सुजिता चौधरीले जानकारी दिइन् । निर्णय कार्यान्वयन भएमा अपांगता भएका ब्यक्तिको लागि सिंह दरबार घर घरमा भएको हुने छ ।

पालिकाका अध्यक्ष हिमालय त्रिपाठीको उपस्तिथिमा बसेको बैठकमा प्रमुख प्रशासकिय अधिकृत दान बहादर ऐडीले परिच पत्र बितरण गर्दा समितिका सदस्यहरु कसैको पनि दवाब प्रभाबमा पर्न नहुने नीति र कार्य बिधिको परिधिमा रही निर्णय गर्नु पर्ने भन्दै समितिलाई सचेत गराएका थिए ।

महिला तथा बालबालिका शाखा बढैयातालमा बसेको परिचय पत्र बितरण समितिले बुधवार २७ जना अपांगता भएका ब्यक्तिलाई परिचय पत्र प्रदान गर्ने निर्णय गरेको छ । शाखाले दिएको जानकारी अनुसार (क) बर्गः पूर्ण अशक्तमा ७ जना , (ख) बर्ग अति अशक्तमा १५ जना , (ग) बर्ग ः मध्यम अपागताको ४ र (घ) बर्ग सामान्य अपांगता भएका १ जना गरि २७ जनाको लागि परिचय पत्रको निर्णय भएको छ ।

अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी ऐनको दफा ५९ बमोजिम प्रत्येक स्थानिय तहले अपांगता भएका ब्यक्तिले पाउने सेवा सुबिधा घर दैलोमै उपलब्ध गराउने ब्यबस्था भएतापनि अधिकांश स्थानिय तहले कार्यान्वयन नगरेको अपांगता अधिकारकर्मीको गुनासो छ । बर्दियाको आठ पालिका मध्ये मुधबन नगर पालिकाकाकी उप–प्रमुख अनिता चौधरी र ठाकुबाबा नगरपालिकाकी उप–प्रमुख बिना भट्टराईको पहलमा घर दैलोमा पुगेर अशक्त अपांगता भएका ब्यक्तिको पहिचान गरि परिचय पत्र उपलब्ध गराउने काम भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय