बर्दिया,चैत २४ (फरकसमाचार) / दुई दिनमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार चार र बुधबार तीन गरि सात जनालाई प्रहरीले गरेको हो । दुई दिनमा प्रहरीले सात जनालाई लागु औषधसहित नियन्त्रणमा लिन सफल भएको छ । पक्राउ पर्नेमा छ जना बाँकेका र एक जना भारतीय रहेका छन् । भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध ब्राउनसुगर फेला परेको हो ।
बुधबार बाँके कोहलपुर नगरपालिका–२ का २३ वर्षिय दिपक विक, सोही ठाउँका १२ वर्षिय एकेन्द्र राना र भारत उत्तर प्रदेश बहराईच जिल्ला मोतिपुर थाना बलैगाउँका १९ वर्षिय दिपेश कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा भारतीय नागरिक चौधरीको साथबाट प्लाष्टिकमा एक पुरिया ३ ग्राम ३ सय ४० मिलिग्राम र एकेन्द्र रानाको साथबाट ९ सय मिलिग्राम ब्राउन सुगर फेला परेको हो । दुवै जनाको साथबाट ४ ग्राम २ सय ४० मिलिग्राम लागुऔषध फेला परेको छ ।
त्यसैगरी मंगलबार लागु औषध ब्राउन सुगरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१५ का ३३ वर्षिय रबिन्द्र थारु, वडा नंम्बर १३ का मनिष डाँगी, वडा नंम्बर ६ का सन्देश थारु र बैजनाथ गाउँपालिका–६ का १८ वर्षिय बलराम सिंह थारु रहेका छन् । सन्देश थारुले चलाएको साईकलको सिट मुनी प्लाष्टिकमा २ पुरिया लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगर प्रहरीले फेला पारेको हो । फेला परेको ब्राउन सुगर २ ग्राम १ सय ९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । बर्दिया अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।