बर्दिया,चैत २४ / बबई नदीबाट नदी जन्य पदार्थ बोकेर फुत्त फुत्त निस्कने १२ चक्के टिप्पर दिन रात स्पिडमा चल्छन् । बबई नदीबाट उत्खन्न गरिएका नदी जन्य पदार्थ बोकेर कुद्ने हुलाकि सडकमा समय सिमामा समेत बलमिच्याई गरिरहेको देखिन्छ । बबई नदीको कुभ्रा, लठुवा, चन्दनपुर घाट र ठाकुरबाबा नगरपालिकाको दुई वटा घाटबाट ढोढरी चोक, बाह्र नम्बर चोक र गुलरियासम्म दिन र रात गरी ओसार पसार हुने गरेको छ । बबईमा पानी सतह बढ्ने समय पारेर पानी भित्रबाट उत्खनन् गर्दा नदेखिने भएकाले ठेकेदारको चलाखिले प्रश्रय पाईरहेको छ ।
बारबर्दिया, मधुवन र ठाकुरबाबाले नगरपालिकाले अमानतमा र ठेक्का नदी जन्य पदार्थ उत्खननको जिम्मा दिएको दिन देखि बेरोकटोक नदी दोहन र ओसारपसार चलिरहेको छ । दिन रात पानि चुहाउँदै हिड्ने टिप्परका कारण हुलाकि सडक जिर्ण बन्ने जोखिम बढेको स्थानीय गुनासो गर्छन् । नदी जन्य पदार्थमा उत्खनन र ओसार पसारमा जति कानुनले कसेको भए पनि पालिकाले दिएको अनुमतिमा बेरोकटोक उत्खनन् मापदण्ड विपरीत छ । अघिल्लो बर्ष नदी बिच विच भागमा खाल्डो परेको थियो भने अहिले भईरहेको उत्खननले बबई नदीले धार फेर्ने देखिन्छ ।
पानी चुहाउँदै हिड्ने टिप्पर देख्ने जो कोहिले पनि नदी जन्य पदार्थ बेरोकटोक उत्खनन भईरहेको पुष्टि गर्छ । नदी जन्य पदार्थ बोकर हिड्ने टिप्परले रोयल्टी छलिरहेको स्रोतको दाबी छ । तर मिलिमतोमा भईरहेको उत्खनन् संरक्षण गरिरहेको नियमन निकायलाई आरोप छ ।
असार अन्तिममा सरकारले नदी जन्य पदार्थ उत्खनन् र ओसार पसारमा रोक लगाउँछ । तर नदी जन्य पदार्थ उत्खनन वा ओसार पसारमा समय सीमा सकिने समयमा बरोकटोक भईरहेको दोहनले नदीले धार फेर्ने सम्भावना देखेका स्थानिय चिन्तित देखिन्छन् ।
सरकारको प्राथामिकतामा परेको बबई सिँचाई आयोजना सिँचाईका लागि नहर निर्माण तिब्र पारेकाले भबिष्यमा नदी धार बदल्ने हो भने करौडोको लगानी खेर जाने जोखिम बढेको छ । पछिल्लो समय आयोजनाको नाममा धमाधम क्रसर उद्योग संचालनमा छन् । नदी जन्य पदार्थ उत्खनन पछि डम्पिङ गरेर ओसार पसार गर्ने नियम लत्याईको छ । आयोजनाको पुरानो काम देखाएर बर्सो देखि उत्खनन गर्ने गरिरहेको पाईएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको ओसार पसार गर्दा उत्खनन् स्थलमा प्रवेश गर्ने दुवानी साधनको क्षमता वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिम हुनुपर्ने व्यबस्था छ ।
ढुवानी गर्ने सवारी साधनले सङ्कलन वा उत्खनन् स्थलदेखि अन्तिम गन्तव्यसम्म नदीजन्य र खानीजन्य पदार्थबाट धुलो उड्न नदिने गरी ढुवानी गरिएको सामाग्रीलाई छोप्ने, गति चालिस किलोमिटर प्रति घण्टा भन्दा बढी नगर्ने, पिच सडकमा पानी चुहिन नदिने कडाई गर्ने नियम लत्याइएको पाईएको छ ।
२०७७ सालमा जारी भएको व्यबस्थामा स्थानीय प्रहरी तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले नियमित अनुगमनको प्रबन्ध मिलाउनु पर्ने भएपनि पालिकाका प्रमुखले वेवास्ता गर्दे आएका छन् । नदीजन्य अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी सदस्यमा प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख लगायतको समिति छ । नदी मापदण्ड विपरीत उत्खनन भएको पाईएमा कारबाही प्रक्रिया अघि बढाउँने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘उत्खनन्को बिषयमा कुनै गुनासो आएको छैन’उनले भने,‘मापदण्ड मिचेर उत्खनन गरेको भेटिए कारबाही हुन्छ ।’ स्रोत नागरिकन्युज