सेनाको आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम अभ्यास
शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित

बर्दिया, बैशाख ०१ (फरकसमाचार) / नेपाली सेना बज्रदल गणले आगलागी नियन्त्रणको लागि कृत्रिम अभ्यास गरेको छ । भविष्यमा हुन सक्ने आगलागी कसरी नियन्त्रण गर्ने सेनाले बिहीबार कृत्रिम अभ्यास गरेको हो ।

सेनाले खरका घर टहरा निर्माण गरी आगजनी गरी आगलागी कसरी नियन्त्रण गर्ने र घाईतेको उद्धार गरी उपचारको लागि अस्पतालसम्म कसरी पठाउने सम्पुर्ण अभ्यास गरेको छ । गर्मी र हावाहुरीको मौसम सुरु भएसंगै आगलागी हुने जोखिम पनि बढेको छ । त्यसैगरी भान्सामा आगलागी हुने जोखिम हुन्छ । भान्सामा ग्यास सिलिन्डरमा आगलागी भईहालेमा नआत्तिएर कसरी निभाउँने नेपाली सेनाले कृत्रिम अभ्यास गरेर देखाएको छ ।

विपदको घटनालाई तत्काल सम्बोधन गर्न आगलागी नियन्त्रणको कृत्रिम अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘विपदका घटना घटेपछि तत्काल कसरी नियन्त्रण गर्ने, कसरी परिचालन हुने र हाम्रो जिम्मेवारी के रहने कृत्रिम अभ्यासमा गरिएको छ’ प्रजिअ रिसालले भने,‘विपदका घटनाको सुचना पाउने बित्तिकै विपदका संयन्त्रहरु स्वचालित रुपमा परिचालित हुनुपर्छ भन्ने सन्देश यस अभ्यासले दिएको छ ।’

संयुक्त सुरक्षाकर्मीको टिमले आगलागी नियन्त्रणको लागि गरेका कृत्रिम अभ्यासले आगामी दिनमा यस्ता घटना घटेमा धनजनको क्षति व्यहोर्नु नपर्ने विश्वास दिलाएको छ । आगलागी नियन्त्रण कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । गुलरिया नगरपालिका, बज्रदल गण नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल नं.३१ गण र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आगलागी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर