बर्दिया, बैशाख ७ (फरकसमाचार) / सार्वजनिक बिदाको दिनमा पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले सेवा प्रवाह गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले बुधबार सुचना प्रकाशित गरि सार्वजनिक बिदाको दिनमासमेत सेवा प्रवाह हुने जनाएको हो ।
गृह मन्त्रालयबाट राजपत्रमा प्रकाशित सुचना बमोजिम विस २०८० साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक बिदाको दिनमा प्रशासन कार्यालयबाट प्रवाह हुने नेपाली नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवाहरु नियमित संचालन हुने प्रशासनले जनाएको छ ।
वर्षभरि प्रशासनले १७ सार्वजनिक बिदाको दिनमा सेवा दिने भएको छ । बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उधौली पर्व, तमु ल्होसार, पृथ्वी जयन्ती, माघी पर्व, सोनम ल्होसार, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद र बकर ईदको दिनमा प्रशासनले सेवा प्रवाह गर्ने सहायक प्रजिअ रमेश पाण्डेयले हस्ताक्षर गरिएको सुचना प्रकाशित भएको छ ।
नागरिकता लिने, राहदानी र राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्ने फाँटमा सेवाग्राहीहरुको बढी भिडभाड हुन्छ । सार्वजनिक बिदाको दिनमा प्रशासनले तीन वटा सेवा नियमित प्रवाह गर्ने कार्य प्रशंसानीय रहेको बताउँदै सेवाग्राही खुसी भएका छन् ।