वायु सेवा निगमले माग्यो ऋणको ब्याज, हर्जाना र पेनल छुट
बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

काठमाडौं, वैशाख ७ / आर्थिक संकटमा परेको नेपाल वायु सेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । कोरोना महामारीको कारणले पनि व्यापारमा प्रतिकूल असर परेको भन्दै  निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो ।

गत असार महिनायता ऋणबाफत् २ अर्ब ९४ करोड २८ लाख रूपैयाँ भुक्तानी गरिसकेको निगमले किस्ताको संख्या बढाइ ऋण भुक्तानीलाई सहजीकरण गरिदिन पनि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । नेपाल वायु सेना निगमका प्रवक्ता रमेश पौडेलले आज जारी गरेको विज्ञप्तिमा निगमको अनुरोधबारे कोषसँग छलफल भइरहेको उल्लेख छ ।

निगमले वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकीरसमेत गरेको छ । त्यसैकारण अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको थियो । ऋणको किस्ताबाफत गत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

यसअघि असार महिनामा १ अर्ब ३५ करोड रुपैयाँ, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ गरी जम्मा २ अर्ब ९४ करोड २८ लाख ६५ हनार ८४४ रुपैयाँ भुक्तानी गरिसकेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय