वन र वन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखीकरण
बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

बर्दिया, बैशाख १३ (फरकसमाचार) / स्थानीय जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र संचारकर्मीहरुसंग वन र वन्यजन्तु संरक्षण सम्बन्धि एक दिने अभिमुखीकरण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा सञ्चारीका समुहको आयोजनामा मंगलबार अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
वन र वन्यजन्तु संरक्षण सम्बन्धि स्थानीयलाई सुसुचित गर्न अभिमुखीकरण गरिएको छ ।

वन र वन्यजन्तुको संरक्षणमा टेवा पुग्ने मक्सदले अभिमुखीकरण कार्यक्रमको अयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए । यस अभिमुखीकरण कार्यक्रमले संरक्षणमा अवश्य पनि टेवा पु¥याउने विश्वास छ । ‘वन र वन्यजन्तुको संरक्षणको लागि ऐन कानुन छन्’ सहाय प्रजिअ पाण्डेले भने,‘त्यतिले मात्र हुदैन, समुदाय स्तरबाट अपनत्वको भावना हुनुपर्छ ।’ अनि मात्र वन र वन्यजन्तु संरक्षणमा मद्दत पुग्छ ।

विगतमा आफु पनि सामुदायिक वनमा काम गरेकोले वन जंगलको माया लाग्ने गरेको गुलरिया नगरपालिकाकी नगर उप–प्रमुख सावित्रा गौतमले बताईन् । वन जंगल जोगाउनु हाम्रो दायित्व हो । हाम्रा वरपर रहेका वनजंगलको संरक्षणमा चासो देखाउनु पर्ने उप–प्रमुख गौतमले भनाई राखिन् ।

जैविक विविधता संरक्षण किन गर्ने र यसको महत्वको बारेमा कृष्णसार संरक्षण क्षेत्रका प्रमुख विनय कुमार झाले प्रशिक्षण गरेका थिए । जैविक विविधतामा नेपाल एसियाको ११औं र विश्वको २५औं देशमा पर्छ । हामी जैविक विविधतामा धनी छौं । जैविक विविधताले हामी विश्वमा चिनिएका छौं त्यसैले संरक्षणमा ध्यान दिन आवश्यक छ । वन र वन्यजन्तुको संरक्षणको लागि अब समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । सरकारले समुदायका मानिसका लागि आम्दानी गर्ने जस्ता नीति बनाएर कार्यक्रम ल्याए वन र वन्यजन्तुको संरक्षण प्रभावकारी हुने प्रमुख झाले सुनाए ।

२ सय ८१ वटा सामुदायिक वन र ४ वटा धार्मिक वनसंग समन्वय गरि संरक्षणको काम गरिरहेको डिजिभन वन कार्यालयका वन अधिकृत दिपक थारुले बताए । डिभिजन वन कार्यालयले वन र वन्यजन्तु संरक्षणमा लागिरहेको छ । यस कार्यमा संलग्न गराउन समुदायमा जनचेतना फैलाईएको जनाए । त्यसैगरी डिभिजन वन कार्यालयले गर्ने वार्षिक कार्यक्रमको बारेमा अधिकृत थारुले जानकारी दिएका थिए । सुचनाको हकको बारेमा सञ्चारीका समुह बर्दियाकी अध्यक्ष पुष्पा चौधरीले प्रशिक्षण दिएकी थिईन् । अभिमुखीकरण कार्यक्रममा सञ्चारीका समुह लुम्बिनी प्रदेशकी महासचिव मेनका चौधरी, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय