नौ महिनामा चार औलोका बिरामी भेटिए
बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

बर्दिया, बैैशाख १३(फरकसमाचार) / नौ महिनामा चार जना औलो रोगका बिरामी भेटिएका छन् । साउन देखि चैत महिना सम्ममा चार जना औलो रोगका बिरामी भेटिएका हुन् ।

गुलरिया नगरपालिकामा ३ र गेरुवा गाउँपालिकामा १ गरि चार जनामा औलो रोग भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।
नौ महिनामा ९ हजार १ सय ७ जना शंकास्पद रहेको बिरामीहरुको ब्लड जाँच गरेको जनाए । ‘नेपालमा पुर्ण रुपमा औलो निवारण भएको छैन’ प्रमुख गिरीले भने,‘छिरफुट रुपमा औलोका बिरामी निरन्तर भेटिएका छन् ।’ नेपालले सन् २०२५ सम्ममा औलो निवारण गर्ने लक्ष्य लिएर अघि बढेको प्रमुख गिरीले जानकारी दिए ।

गत वर्ष १२ जना औलो रोगका बिरामी भेटिएका थिए । बाँसगढी नगरपालिकामा २, ठाकुरबाबा नगरपालिकामा ३, गुलरियामा १, गेरुवा गाउँपालिकामा २ र बढैयाताल गाउँपालिकामा ४ जनामा औलो रोग देखिएको थियो । त्यसैगरी ८ हजार २ सय ९२ जना शंकास्पद रहेका बिरामीहरुको ब्लड जाँच गरिएको स्वास्थ्य कार्यालयमा रेकर्ड छ ।

एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोक्दा लामखुट्टेको ¥यालसंगै औलोका परजिवीहरु मानिसका शरीरमा प्रवेश गरेर सबभन्दा पहिला लिभरमा जान्छ । मानिसको शरीरमा परजिवी प्रवेश गरेको १० देखि १५ दिनमा औलोको लक्षण देखा पर्छ । टाउको तथा मांसपेशी दुख्ने, थकानको अनुभुति हुने, जर्को ज्वरो आउने, कलेजो सुन्निने र वाकवाकी लाग्ने जस्ता लक्षण देखा पर्छन् । लामखुट्टेको टोकाईबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सर्छ । औलो रोगको निशुल्कमा उपचार हुन्छ । औषधी खाए पुर्ण रुपमा निको हुन्छ । घरमा बस्दा साँझ बिहान फुल कपडा लगाउने, झुल लगाउने, घरको झ्यालमा जाली प्रयोग गरी यस रोगबाट संक्रमित हुने जोखिम कम गर्न सकिन्छ ।

‘शून्य औलो अबको थालनी नवीनतम कार्य,कार्यान्वयनमा लगानी’ भन्ने नाराकासाथ स्वास्थ्य कार्यालय बर्दियाको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रम गरि मंगलबार विश्व औलो दिवस मनाईएको छ । कार्यक्रममा स्वास्थ्य कार्यलयका प्रमुख गिरीले औलो रोगको अवस्थाको बारेमा संचारकर्मीलाई जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरी, सुचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय