कोरोनाको जोखिम बढ्दै : गुलरियामा १२ जनाको जाँच गर्दा ८ जनामा पुष्टि
बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

बर्दिया, बैशाख १४ (फरकसमाचार) / पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । गुलरियामा बुधबार १२ जनाको जाँच गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस परीक्षण सुरु भएपछि धमाधम सक्रिय संक्रमित फेला पर्न थालेका छन् । कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्यकर्मीले सुझाईरहेका छन् । जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ पुगेको छ । २२ जना महिला र १४ जना पुरुषमा भाइरस सक्रिय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गुलरिया नगरपालिकामा १२ जना पुरुष र १९ जना महिलामा भाइरस सक्रिय रहेको छ । त्यसैगरी गेरुवा गाउँपालिकामा १ जना पुरुष र ३ जना महिलामा भाइरस सक्रिय रहेको छ भने बाँसगढी नगरपालिकामा १ जना पुरुषमा भाइरस सक्रिय छ । सक्रिय संक्रमित होम आइसोलेसनमा छन् ।

गुलरिया नगरपालिका अन्र्तगतका स्वास्थ्य संस्थाहरुमा बुधबार देखि कोभिड बिरुद्धको बुष्टर खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण गोपाल चौधरीले बताए । ‘४० वर्ष माथि उमेर समुहका व्यक्तिहरुलाई बुष्टर खोप दिन सुरु गरिएको छ’ सुचना अधिकारी चौधरीले भने,‘खोप छुटेका र लक्षित उमेर समुहका व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा खोप लिन सक्छन् । यसपछि अन्य पालिकाहरुमा बुष्टर खोप दिने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर