गुलरिया नगरपालिकाको फोहोरलाई मोहर बनाउने योजना सफलता नजिक
सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

बर्दिया, बैशाख १८ (फरकसमाचार) / गुलरिया नगरपालिकाको फोहोरलाई मोहर बनाउने योजना सफलताको नजिक पुगेको छ । लामो समयपछिको रिसर्चपछि फोहोरलाई मोहर बनाउने योजना सफलताको नजिक पुगेको हो । आइतबार आयोजित एक कार्यक्रम मार्फत रिसर्च टिमले अध्ययन गरे अनुसार फोहोरबाट कसरी आर्गनिक मल बनाउन सकिन्छ र यसका चुनौती के कस्ता रहने प्रस्तुत गरेको छ ।

फोहोर व्यवस्थापनका लागि गुलरिया नगरपालिकाले डम्पीङ साइड बनाएको थियो । नगरबाट संकलन गरेको फोहोर र दिशाजन्य लेदो पदार्थ डम्पीङ साइडमा लगिन्छ । फोहोरबाट आर्गनिक मल बनाएर आम्दानी गर्ने लक्ष्य नगरपालिकाको छ । डम्पीङ साइडमा संकलन भएका फोहोरबाट कसरी आर्गनिक मल बनाउन सकिन्छ रिसर्च टिमले अध्ययन गरेको छ ।

डम्पीङ साइडमा संकलन भएका फोहोरबाट ९० दिनमा आर्गनिक मल तयार गर्न सकिने रिसर्च टिमका ढुण्डीराज पाठकले बताए । ‘१ टन कुहिने फोहोरबाट १ सय ५० किलोग्राम आर्गनिक मल तयार हुन्छ’ पाठकले भने,‘त्यसैगरी दिशाजन्य लेदो पदार्थको परिमाणको आँधा आर्गनिक मल तयार हुन्छ ।’

गुलरिया नगरपालिकाले फोहोर व्यवस्थापनको लागि सक्रिय रहेको नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘विभिन्न चुनौतीको सामना गर्दै फोहोर व्यवस्थापनमा नगरपालिकाका कर्मचारी खटिएका छन्’ नगर प्रमुख यादवले भने,‘फोहोरबाट आर्गनिक मल बनाउन रिसर्च टिमले ल्याएको आउटपुटलाई नगरपालिकाले कार्यान्वय गर्न तयार छ ।’ यस कार्यमा विभिन्न संघसंस्थाले सघाउने नगर प्रमुख यादवले विश्वास व्यक्त गरे ।

दिशाजन्य लेदो पदार्थबाट निस्केको आउटपुट र गल्ने प्रवृतिको फोहोर मिसाएर अर्गानिक मल तयार गर्न सकिने रिसर्च टिमले आउटपुट ल्याएको गुलरिया नगरपालिकाका सुचना अधिकारी मुकुन्द अर्यालले बताए । ‘आइडिएस नेपालका रिसर्च टिमले लामो समयको रिसर्चपछि आउटपुट ल्याएको छ’ अर्यालले भने,‘तयार हुने मलको बजारीकरण तर्फ लागिरहेका छौं ।’ गुलरिया नगरपालिकाले खानेपानी तथा सरसफाई क्षेत्रमा विभिन्न अभियान संचालन गर्दै आएको छ । त्यसैगरी एकीकृत फोहोर व्यवस्थापनको अवधारणालाई नगरपालिकाले अगाडि बढाएको सुचना अधिकारी अर्यालले जानकारी दिए ।

खुला दिशा मुक्त भएपछि चर्पी निर्माण भएका छन् । तर,चर्पीको ट्यांकीबाट दिशाजन्य लेदो पदार्थ लिक हुँदा खानेपानीका स्रोत दुषित हुँदै गएको रिसर्चमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय