रास्वपा सरकारमा आउने कुरा चलिरहेको छ: प्रधानमन्त्री दाहाल
सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

काठमाडौं, वैशाख १८ / प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन्। प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागी हुने  विषयमा कुरा चलिरहेको बताए। प्रधानमन्त्री दाहालले भने, ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।’

रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै उनले यसैमा उनी अडिन्छन् भन्ने आफूलाई नलागेको बताए। सत्ता साझेदार दलका बिचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए। रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरू नपुगेको उनले स्पष्ट पारे। प्रधानमन्त्री दाहालले भने,‘रास्वपका अध्यक्ष रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन।’

सञ्चारकर्मीको सोधाइमा उनले सरकार पाँच वर्ष चल्ने बताए। उनले भने, ‘सरकार पाँच वर्ष चल्छ। यताउता हुन्छ कि भन्ने भ्रम हो।’ आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए। सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए। बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘भेटमा मैले बजेटमा तपाईको माग सम्बोधन गर्न पूरै प्रयास हुन्छ भने हिंड्ने समयमा उहाँले माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदो रहेछ भन्नुभयो। हाँसीहाँसी।’ बस्नोस् त भन्न मिल्दैन बस्नुभयो भने मलाई बजेट बनाउन सजिलै हुन्छ भनेर आफूले भनेको उनले बताए। प्रधानमन्त्री दाहालले थपे, ‘यस कारण सरकारले वास्ता गरेन भन्ने झुटो हो। मैले बुझ्दा त सल्लाहमा नै उहाँ बसेको भन्ने बुझेको छु।’ पुनले विकास बजेटको एक प्रतिशत बजेट छुट्याउन अनुरोध गरेको पनि उनले बताए।

पूर्व लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए। तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवं एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको प्रधानमन्त्री दाहालले बताए। तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्ने गरी फैसला भएकाले रकम दिन लागिएको बताए।

आर्थिक समस्याका कारण किस्ता बन्दीमा लडाकुलाई रकम दिने विषयमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए। उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा असत्य भएको बताए। उनले भने, ‘तत्कालीन राजा र तीनका समर्थक भन्ने छ त्यो गम्भीर विषय हो।’

अर्को एक प्रश्नमा खेलकुद क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको उनको भनाइ थियो। सरकारले कृषि उत्पादन, रोजगारी र युवा लक्षित कार्यक्रमलाई बजेटमा जोड दिने पनि बताए। सो अवसरमा दाहालले प्रेस सेन्टर चितवनले प्रकाशन गरेको क्यालेन्डरको लोकार्पण गरेका थिए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय