लोक सेवाको अनलाइन प्रणाली अवरूद्ध, दोहोर्‍याएर आवेदन माग गरिँदै
सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

काठमाडौं, वैशाख १८ / लोक सेवा आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको छ। गत फागुन २३ गतेदेखि नै ‘जिआइडिटी स्टोरेज’ प्रणालीमा देखिएको समस्याले आयोगको अनलाइन प्रणाली अवरूद्ध भएको हो। करिब दुई महिनादेखि अनलाइन प्रणालीमा समस्या आए पनि आयोगले आइतबार मात्रै यसबारे सार्वजनिक गरेको छ।

आयोगले प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू २०७१ देखि पिएसआरएमएस अनलाइन प्रणालीबाट सरकारी एकीकृत डाटा सेन्टर जिआइडिसीको पूर्वाधारमा होष्ट गरी सञ्चालन गर्दै आएको थियो। यस प्रणालीबाट आयोगका कार्यसम्पादन प्रभावकारी बन्नुका साथै उम्मेदवारहरूको दरखास्त पेश गर्ने, परीक्षा दस्तुर तिर्ने र प्रवेश पत्र प्रिन्ट गर्नेलगायतका सेवा सहज रूपमा हुँदै आएका थिए। तर फागुनदेखि यो अनलाइन प्रणालीमा समस्या आएको थियो।

आयोगले २०७९ मंसिरमा प्रकाशित रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदमा विज्ञापन गरेको थियो। पुस महिनामा रा.प. अनं. प्रथम श्रेणी अप्राविधिक नायव सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरह र स्वास्थ्य सेवातर्फ पाँचौं तहको पदको विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरणमा आयोगले पहुँच पाउन सकेको छैन।

आयोगका सहसचिवसमेत रहेका प्रवक्ता तोयनारायण सुवेदीले जिआइडिसी सञ्चालन गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास जारी राखेको छ। जिआइडिसीकै अर्को पूर्वाधारमा होष्ट गरी आयोगले अनलाइन दरखास्त प्रणाली सञ्चालन गरिरहेको छ।

‘डाटा रिकभरीको प्रयास जारी रहेको भएता पनि राष्ट्रिय सूचना केन्द्रबाट कहिलेसम्ममा के कति डाटा रिकभर हुन्छ भन्ने यकिन नभएको जानकारी आयोगलाई प्राप्त हुन आएकोले यस विषयलाई गम्भीरतापूर्वक लिई पूर्व प्रकाशित विज्ञापनका परीक्षा सञ्चालन गर्न आयोग वैकल्पिक योजनामा काम गरिरहेको छ,’ प्रवक्ता सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रकाशित विज्ञापनमा आवेदकहरूले दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित छ। यसअघि नै दरखास्त दस्तुर तिरिसकेका उम्मेदवारहरूलाई मात्र उचित समय दिएर थप दस्तुर तिर्न नपर्ने गरी आयोगले पुन: दरखास्त दिन आह्वान गर्ने तयारी गरिरहेको छ। साथै परीक्षा कार्यक्रम परिमार्जन गरी नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रियामा आयोग छ। ‘आगामी दिनमा यस किसिमको समस्या आउन नदिन ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,’ प्रवक्ता सुवेदीले भने। सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर