नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने सरकारको तयारी
मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

काठमाडौं, जेठ २ / सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सभामुख देवराज घिमिरेसँगको भेटमा सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु ।’

संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना पनि गरेका थिए । आजबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताएका थिए ।

यसैगरी सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिएका थिए । सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि उनले आभारी व्यक्त गरेका थिए । तर सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै उनले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय