झ्याप झ्याप विद्युत कटौतीले स्थानीय आक्रोशित
बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, जेठ ११ (फरकसमाचार) / तापक्रमको पारो उकालो लागिरहेको बेलामा झ्याप झ्याप हुने बिद्युत कटौतीले स्थानीय आक्रोशित भएका छन् । हावाहुरी नलागेको समयमा नै झ्याप झ्याप लाईन काटिदा स्थानीय आक्रोशित भएका हुन् । २४ सै घण्टा छिन छिन हुने विद्युत कटौतीले स्थानीय उपभोक्तालाई सास्ती खेप्न परेको छ । राती हुने बिद्युत कटौतीले निन्द्रा बिथोलिने गरेको उपभोक्ताहरुको भनाई छ ।

बिद्युत प्राधिकरणको लापरवाहीले छिन छिनमा बिद्युत कटौती हुने गरेको स्थानीयको आरोप छ । लामो समयदेखि छिन छिनमा हुने विद्युत अवरोध समस्यालाई समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नु प्राधिकरणको चरम लापरवाही रहेको स्थानीयको आँकलन छ । लाईन काटिएको समयमा उपभोक्ताले प्राधिकरणमा फोन गरेर जानकारी माग्दा समेत कार्यालयको सबै फोन व्यस्तमा राख्ने गरेको स्थानीयको व्यापक गुनासो छ ।

गर्मी मौसम शुरु भए देखि विद्युतले लुकामारी शुरु गरेको गुलरिया नगरपालिका–९ का रमेश थारुले बताए । ‘विद्युतको यो नाटकले रातभरि सुत्न सकिदैन’ थारुले भने,‘विद्युतका हाकिमहरुको रुममा २४ सै घण्टा लाईनको व्यवस्था हुन्छ होला उनीहरुलाई सर्वसाधारणले पाएको दुखको केही वास्ता छैन ।’ बिना कारण झ्याप झ्याप हुने विद्युत कटौतीलाई रोक्न उनीहरुले कुनै चासो नदिएको थारुको भनाई छ ।

छिन छिनमा विद्युत अवरोधले विद्युतिय सामाग्री बिग्रिने उच्च जोखिम रहेको स्थानीयको भनाई छ । छिन छिनमा हुने विद्युत कटौतीले अटोको चार्जर, मोबाइल चार्जर, बल्ब, फ्रिज र पंखालगायत अन्य बिद्युतिय सामाग्री बिग्रिने जोखिम बढ्दो छ । यस्ता समस्याबाट उद्योगी, पर्यटन व्यवसायी र विद्यार्थीहरुलाई मर्का परेको छ ।

बर्दियामा यस्तो समस्या हालसालै मात्र देखिएको भने होइन । बिद्युत आपुर्ती सुधार नहुँदा बर्षौ देखि उपभोक्ताहरु पीडित छन् । जिल्लाको विद्युत सेवा अवरुद्ध भईरहने गरेकोले सदरमुकाम आसपासका व्यवसायी, कर्मचारी र विद्यार्थीहरुलाई सास्ती खेप्नु परेको छ ।

हावाहुरी र प्राविधिक कारणले तीन चार दिन अघि देखि छिनछिनमा विद्युत अवरोध हुने गरेको नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रका सुपरभाइजर राम प्रकाश कुमार शाहले दाबी गरे । तर, छिन छिनमा विद्युत अवरोध हुने समस्या पहिलाबाटै रहेको सर्वसाधारणको आरोप छ । कोहलपुरबाट आएको लाईन अपग्रेट भईरहेको र भुरिगाउँबाट आएको लाईनमा प्राविधिक समस्या भएको कारणले छिन छिनमा विद्युत अवरोध भईरहेको सुपरभाइजर शाहले बताए ।

कोहलपुरबाट आएको लाईन मैनापोखरसम्म छ त्यसैगरी भुरिगाउँबाट आएको लाईन गुलरियासम्म छ । ‘बिहीबार देखि कोहलपुरबाट आएको लाईन गुलरियासम्म लिने र भुरिगाउँ गुलरियाको लाईनमा देखिएको समस्या हटाउने काम हुनेछ’ सुपरभाइजर शाहले भने,‘तीन दिनको समय लिएर भुरिगाउँ गुलरिया लाईनमा देखिएका समस्या हटाउने योजना छ ।’ यो अवधिमा कोहलपुरबाट आएको लाईन प्रयोग हुने हुँदा समय समयमा समस्या आउन सक्ने सुपरभाइजर शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय