गुलरियामा रेडियो संवाद एफएमको परिक्षण प्रसारण सुरु
मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित

बर्दिया, जेठ १६ / बर्दियाको सदरमुकाम गुलरियाबाट ‘बर्दियाको समावेशी आवाज’ भन्ने नारासहित रेडियो संवाद एफएमले सोमबार गणतन्त्र दिवसका दिन देखि आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ ।

(बिबिसी एन) भावुक बर्दिया कम्युनिकेशन नेटवर्कद्वारा संचालित “बर्दियाको समावेशी आवाज“ नारासहित रेडियो संवाद एफएम ९८.३ मेगाहर्ज, गुलरिया नगरपालिका ४, तुलापुरको (कृष्णसार ताल) लेकसाइडबाट गणतन्त्र दिवसको अवसरमा रेडियोको परिक्षण प्रसारण शुभारम्भ भएको हो ।
सोेमबार गणतन्त्र दिवसको अवसर पारि विहान ५ः५१ बजेदेखि गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले रेडियोको ट्रान्समिटरको बटन थिचेर धार्मिक भजनका साथ शुभकामना दिँदै परिक्षण प्रसारण शुभारम्भ गरेकी रेडियो संवाद एफएमका प्रवन्ध निर्देशक भावुक योगीले बताए ।

रेडियोको परिक्षण प्रसारण उद्घाटन कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, मधुवन नगरका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नेपाल प्रहरी उपरीक्षक सुधिरराज शाही, शसस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाही, वडा अध्यक्षहरु सुरेश गौतम, मुम बहादुर मल्ल, हरि प्रसाद पासी, लक्ष्मीनारायण लोध लगायतको सहभागीता रहेको थियो ।

बर्दिया टाइगर नेटवर्कद्वारा संचालित गर्जन्छ सधैं बाघ झैँ नारासहित रेडियो टाइगर ९९.२ मेगाहर्ज ठाकुरबाबा नगरपालिका १, भुरिगाउँमा स्थापना भएको ७ वर्ष पछि बर्दियाको सदरमुकाम गुलरियाबाट पनि रेडियो टाइगरले शाखाको रुपमा रेडियो संवाद एफएम संचालनमा ल्याएको छ ।
ठाकुरबाबा नगरपालिकासहित गुलरिया, मधुवन, बारबर्दिया, गेरुवा लगायत सबै पालिका र छिमेकी जिल्लाका रेडियो प्रेमी स्रोताहरु माझ रेडियोको प्रसारण अब झनै प्रष्ट रुपमा सुन्न सकिनेछ ।

रेडियो टाइगरसंग सहकार्य गर्दै अघि बढ्दै रेडियो संवाद गुलरिया ९८.३ मेगाहर्जले परिक्षण प्रसारण पश्चात् असार मसान्तदेखि नियमित प्रसारण सुरु गर्ने कार्यक्रम संयोजक सौगात श्रेष्ठले बताए ।

रेडियो टाइगरले कृषि, स्वास्थ्य, शिक्षा, वन वन्यजन्तु संरक्षण, संस्कृति, पर्यटन र विकास लगायतका विषयमा विभिन्न सुचनामुलक, जनचेतनामूलक कार्यक्रम एवं समाचारका साथै मनोरन्जनात्मक कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

रेडियो संवाद एफएम ९८.३ मेगाहर्जले परिक्षण प्रसारण शुभरम्भ गरेको अवसरमा सम्पूर्ण रेडियो प्रेमी स्रोताहरुमा आभारसहित शुभकामना व्यक्त गर्दै स्रोतले रुचाउने सुचना तथा समाचार मुलक, शन्देशमुलक र कार्यक्रमहरु प्रसारण गर्ने रेडियोका प्रवन्ध निर्देशक योगीले जानकारी दिए ।

रेडियोको परिक्षण प्रसारण समयावधि सकिए लगत्तै सम्भवतः असार मसान्तदेखि नियमित प्रसारण सुरु गरेपछि उज्यालो रेडियोबाट प्रसारण हुने समाचार कायाकैरण, नेपाल दर्पण र नेपाल खबरसहित बिबिसी नेपाली सेवा समाचार तथा स्थानीय समाचारसमेत सुरु गरिने योगीले जनाए । रेडियो संवादको प्रसारण एफएम रेडियो र मोबाइलसंगै अनलाइन मार्फत हाम्रो पात्रो, नेपाली पात्रो मोबाइल एप्लिकेसन तथा अनलाइन संवाद डट कमबाट सम्पूर्ण कार्यक्रमहरु सुन्न तथा अनलाइनमा समाचारहरु पढ्नसमेत सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय