बर्दिया, जेठ १६ (फरकसमाचार)/ प्रभातफेरी निकालेर गुलरियामा भव्य रुपमा गणतन्त्र दिवस मनाईएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा सोमबार प्रभातफेरी निकालि दिवस मनाईएको हो । गणतन्त्र दिवसको अवसरमा कर्मचारी मिलन केन्द्रको सहयोगमा बर्दिया अस्पतालमा उपचाररत रहेका बिरामीलाई फलफुल वितरणसमेत गरिएको छ । बिरामीलाई फलफुत वितरण पश्चात निकालीएको प्रभातफेरी राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै गणतन्त्र दिवस उल्लासमय मनाईरहँदा गणतन्त्र स्थापना पश्चात नागरिकहरुले पाएका सेवा सुविधा र अनुभुती गरेका विषयहरु महत्वपुर्ण रहने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘यस सन्दर्भमा हामीहरु जिम्मेवारी निकायका व्यक्तिहरु आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक प्रवाह गर्नुपर्छ’ प्रजिअ रिसालले भने,‘जिम्मेवारी निभाउँदा नागरिकलाई पहिलो केन्द्रमा राखेर सेवा दिन र विकास निर्माणलाई तिव्रता दिन सके गणतन्त्रको आभास गराउन सकिन्छ ।’
गणतन्त्र दिवसको शुभकामनासहित स्वागत मन्तव्य गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले दिएका थिए ।
प्रभातफेरी कार्यक्रममा प्रजिअ नारायण प्रसाद रिसाल, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल प्रहरी उपरीक्षक सुधिरराज शाही र सशस्त्र प्रहरी उपरीक्षक हर्क बहादुर शाहीलगायत प्रहरी कर्मचारी तथा विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।