बर्दियामा गर्मीले जनजीवन कष्टकर, विद्यालय खुल्ला
आइतबार, जेठ २१, २०८० मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, जेठ २१ / बर्दियामा केहि दिन देखि गर्मी र तातो हावाले दिउँसोको तापक्रम औसत ४० भन्दा माथी पुग्ने गरेको छ । दिनानुदिन तापक्रम बढेसंगै गुलरिया बजार, बाँसगढी बजार, भुरिगाउ बजार, मैनापोखर बजार, सानोश्री बजार र राजापुर बजार सुनसान भएका छन् ।

तातो हावा(लू)का कारण दिउँसो सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । मौसम तथा विज्ञान महाशाखाले यस क्षेत्रमा अझै केहि दिन गर्मी अझै बढ्न सक्ने आँकलन गरेको छ । गर्मी बढे पनि जिल्लाका विद्यालयहरु खुल्ला रहँदा बालबालिकाहरु चर्को घाममा विद्यालय जान बाध्यता छ । गर्मीयामसँगै तातोहावा समेत चल्ने गरेकोले विद्यालय जान विद्यार्थीहरुलाई असहज हुने हुँदा केहि दिनका लागि विद्यालय बन्द गर्न अभिभावकले सुझाव दिएका छन् ।

बर्दियामा दिन भरि चर्को घामसँगै चलेको लू (तातो हावा)ले जनजीवन प्रभावित बनेको छ । दैनिक ज्यालादारी गर्ने मजदुरहरुको अवस्था अहिलेको गर्मीले गर्दा झनै असहज रहेको छ ।

गर्मीयाम सुरु भएसंगै झाडापखाला, ज्वरो र टाउको दुःख्ने बिरामी समस्या हुन सक्ने भएकोले सजकता अपनाउन गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनील पाण्डेले बताए ।

बिहानै देखि चर्को घामसँगै तातो लू साँझसम्म चल्ने गरेपछि बजार क्षेत्रमा मानिसको चहलपहल छैन । अत्यावश्यक काम बाहेक मानिस घर बाहिर निस्कन छाडेका छन् । अत्यधिक गर्मी र लूले सडक सुनसान बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय