राम प्रसाद चौहान
बर्दिया,जेठ २१ (फरकसमाचार)/ बाल मृत्युदर र अपाङ्गता दर घटाई बालबालिकालाई सुरक्षित राख्न दादुरा रुवेला खोप अभियान संचालन हुने भएको छ । पहिलो चरणमा जेठ २२ देखि २६ सम्म र दोस्रो चरणमा जेठ २९ देखि असार १ गतेसम्म दादुरा रुवेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालयको योजना अनुसार पहिलो चरणमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा खोप अभियान संचालन हुनेछ । त्यसैगरी दोस्रो चरणमा बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन हुनेछ । दादुरा रुवेला देखिएपछि बर्दियासहित देशको नौ जिल्लामा खोप अभियान संचालन हुँदैछ ।
खोप अभियानमा ६ महिना देखि १५ वर्ष उमेर मुनिका बालबालिकालाई थप एक मात्र दादुरा रुवेलाको खोप लगाईन्छ । पायक पर्ने खोप केन्द्रमा खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ । यस भन्दा अगाडि दादुरा रुवेला खोप पुरा लगाएका बालबालिकालाई पनि यस खोप अभियानमा थप खोप लगाईने स्वास्थ्या कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । थप खोपले बालबालिकामा रोगसंग लड्ने क्षमता झन् बढ्ने विश्वास प्रमुख गिरीले व्यक्त गरे ।
छिमेकी जिल्ला बाँकेमा दादुरा रुवेलाको संक्रमण बढेसंगै बर्दियामा पनि ८० जना बालबालिकामा देखिएको प्रमुख गिरीले जनाए । ‘ज्वरो र रातो घमाउँरा जस्तो बिबिरा आउने यस रोगको लक्षण हो’ प्रमुख गिरीले भने,‘यो संक्रमाक रोग लागेपछि पखाला लाग्ने, निमोनिया हुने, कान पाक्ने, आँखा रतान्धो हुने जस्ता समस्या देखिन्छन् ।’ यसले बालबालिकाको मृत्यु हुने जोखिम हुन्छ ।
खोप अभियानबाट जिल्लामा १ लाख १७ हजार २ सय १५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयको छ । जसमध्ये बढैयाताल गाउँपालिकाका केही वडाका ३ हजार ५ सय बालबालिकालाई पहिला खोप लगाइएको प्रमुख गिरीले जनाए ।
स्वास्थ्य कार्यालयका अनुसार ५ सय ८७ खोप केन्द्र तोकिएको छ । विद्यालय र स्वास्थ्य संस्थालाई खोप केन्द्र हुनेछ । खोप अभियानमा १ हजार १ सय ७४ जना स्वास्थ्यकर्मी र १ हजार १ सय ७४ जना स्वयमसेवकहरु खटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप नलगाएका बालबालिकाबाट यो रोग अन्य बालबालिकामा सजिलै सर्ने सम्भावना हुन्छ । सरकारले विगत दुई दशक देखि विभिन्न उमेर समुहका बालबालिकालाई खोप दिएर दादुरा रुवेला नियन्त्रण र निवारण गर्न प्रयासरत रहेपनि सम्भव भएन । विस २०६८ देखि नियमित खोपमा दादुरासंगै रुवेला खोप समावेश गरेको छ । तर, दादुरा रुवेला रोग शून्य हुनुपर्नेमा निरन्तर महामारीको रुपमा देखा परिरहेको छ । सन् २०२६ सम्म दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिएर अघि बढेको छ । अब पनि अभिभावकहरुले आफ्ना बालबालिकालाई खोप नलगाए अवस्था झन् जटिल हुने वाटर ऐड लुम्बिनी प्रदेशका गुणस्तर अनुगमन अधिकृत मनोज नेपालले जनाए ।