घटनाको निष्पक्ष छानबिनको माग
सोमबार, जेठ २२, २०८० मा प्रकाशित

बर्दिया, जेठ २२ (फरकसमाचार) / घटनाको निष्पक्ष छानबिनको माग गर्दै ठाकुरबाबा नगरपालिका–२ का सुर्य बहादुर खत्रीले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । १८ वर्षिय छोरा सुदन खत्रीको शंकास्पद मृत्यु भएको भन्दै खत्रीले दुई जनाको विरुद्धमा किटानी जाहेरी दिएका हुन् । सोही ठाउँका राजन कडेल र बिदान तिमिल्सेनाको किटानी गर्दै जाहेरी दिएका छन् ।

घटनाको प्रकृति यस्तो छ ।

गत शुक्रबार सुदन खत्री दिउँसो घरमा सुतिरहेको बेला साथीको फोन आएपछि साथीहरुसंग घुम्न जाने जानकारी गराउँदै घरबाट निस्किए । सोही ठाउँका साथी राजन कडेल र बिदान तिमिल्सेनासंग घुम्न जाने भन्दै घरबाट गएको मृतक सुदनकी आमा दुर्गा देवी खत्रीले बताईन् । दिउँसो करिब ३ बजे पछि मात्र छोरा अस्पतालमा भर्ना भएको जानकारी पाएँ । जानकारी पाउनसाथ अस्पताल पुगे ।

स्थानीय अस्पतालको बेडमा छोरा अचेत अवस्थामा पल्टिएको देख्दा आकुल ब्याकुल भएको सुनाईन् । छोरा यस्तो अवस्थामा कसरी पुग्यो भनेर बुझ्दा बर्गद्हा नहरमा नुहाउँदा डुबेको सुनेको बताईन् । ‘छोरालाई हतार हतार मेडिकल कलेज कोहलपुर पुगायौं’ उनले भनिन्,‘तर त्यतिबेला ढिलो भईसकेको रैछ ।’ सन्तानको नाममा एउटा छोरा र एउटी छोरी हुन् । अब संसारमा छोरा रहेन । घटनाको प्रकृति हेर्दा छोराको शंकास्पद मृत्यु भएको पिडित परिवारले दावी गरेका छन् । डुबेर मृत्यु भएको भए शरीरिको विभिन्न भागमा चोटको निलो डाम किन छ । पोष्टमार्टम गरेर नेपालगंजबाट फर्किएका पिडित परिवार आइतबार शवसहित जिल्ला प्रहरी कार्यालय गुलरियामा पुगेका थिए । छोराको मृत्युको घटना निष्पक्ष रुपमा छानबिनको माग गर्दै पिडित परिवारले प्रहरीलाई मृतकको मोबाइलसमेत बुझाएका छन् ।

पिडित पक्षले किटानी जाहेरी अनुसार राजन कडेल र बिदान तिमिल्सेनालाई नियन्त्रणमा लिई म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय