मधुवनले अमानतमा लगाएको नदीजन्य पदार्थको ठेक्कामा प्रहरी निरीक्षक शाहीको हस्तक्षेप
मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, जेठ २३/ मधुवन नगर सरकारले अमानतमा लगाएको नदी जन्य पदार्थको ठेक्का प्रक्रिया अबैध भएको भन्दै ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बखत बहादुर शाहीले हस्तक्षेप गरेको खुलेको छ । नदी जन्य पदार्थ बोक्ने १२ वटा ट्याक्टर र नगरपालिकाको राजश्व असुलीको ठेली समेत शाहीको नेतृत्वमा गएको प्रहरीले नियन्त्रण लिएको सार्वजनिक भएको छ । प्रहरी निरीक्षक शाहीका अनुसार गैर कानुनी नियम विपरीत ठेक्का लगाएको भन्दै प्रहरीले नगरपालिकाले खटाएको कर्मचारीले लिएको नगदी रसिद वा  ठेलीलाई प्रहरीले बरामद गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएका १२ ट्याक्टर भने छाडिएको छ । तर,प्रहरी निरीक्षक शाहीले कारबाहीको लागि नगरपालिकामा ट्याक्टर पठाएको दाबी गर्छन् । प्रहरी निरीक्षक शाहीका अनुसार आईतवार नगरपालिकाले ट्याक्टर र रसिद बुझेन, पुनःप्रहरीले कार्यपालिका सदस्यलाई ट्याक्टर र ठेली प्रहरीले बुझाएको हो ।

नियम विपरीत उत्खनन गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर नगरपालिकामा बुझाउँने ऐनमा व्यबस्था छ । प्रहरी निरीक्षक शाहीले मधुवनले अमानतमा लगाएको ठेक्का अबैध भएको दाबी गरेका छन् । मधुवन नगरपालिकामा नदी जन्य पदार्थ उत्खनन्का लागि आईई प्रतिबेदनमा उल्लेख अनुसार बिक्रि वितरणका लागि अमानतमा बिक्रि वितरण गर्न कर्मचारीले राजश्व संकलन गरिरहेका मधुवन नगरपालकाको दाबी छ । पटक पटक ठेक्का आह्वान गर्दा ठेक्का नलागेपछि नगर सरकारको स्थानीय स्वायक्त शासन ऐनलाई टेकेर अमानतमा ठेक्का लगाएको छ । तर,प्रहरी निरीक्षक शाहीले अबैध तरिकाले भईरहेको उत्खनन रोक्न प्रहरीले सरकारी नगदी ठेलि समेत नियन्त्रणमा लिएको बताएका छन् । ट्याक्टर तीन दिनसम्म प्रहरीको नियन्त्रणमा रहेको जनप्रतिनिधिको दाबी छ ।

मधुवन नगरपालिकाले नगदि रसिद काट्नको लागि स्थलगत बसिरहेको अवस्थामा जबरजस्ती नगदी रसिद लिएर गएको भन्दै लिखित रुपमा निबेदन धुमलाल थारुले नगरपालिकामा पेश गरेका छन् । उनले निबेदनमा नगरपालिकाको अमानतमा ठेक्का लगाउँन भएको निर्णय र आफुलाई नगरपालिकाको पत्रसहित राजश्व असुलिको लागि खटाएको चलानी नम्बर सहित निवेदन पेश गरेका हुन् । तर,प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र रसिदको बिषयको विवाद उत्र्कषमा पुगेको छ । मधुवन वडा नं. १ स्थित पत्थरबोजीमा प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र नगदी रसिदको स्थलगत नगरपालिकाले मुचुल्का उठाएको छ । प्रहरी निरीक्षक शाहीले ट्याक्टर नगरपालिकामा बुझाएको र नगदी रसिद वडा अध्यक्षलाई बुझाएको बताएका छन् ।

नगरपालिका कार्यालयले नगदी रसिद र ट्याक्टर बारेमा अनभिज्ञ भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘प्रहरीले नगरपालिकामा ट्याक्टर पठाएको भएत सिसि क्यामरा जडान गरिएको छ, देखिन्थ्यो होला’उनले भने,‘ट्याक्टर र नगरपालिकाको नगदी रसिद प्रहरीले किन कब्जा गर्यो थाहा भएन ।’ नियम विपरीत उत्खनन् गरेको भए दोषीलाई नगरपालिकाले कारबाहीको दायरामा ल्याउँन सक्ने व्यबस्था भएको उनले बताए । अमानतमा ठेक्का लगाउँन ऐनमा र स्थानीय सरकारले सक्ने दायरामा भएकाले अमानतका लागि घाटमा नगदी रसिद दिएर नगरपालिकाको कर्मचारी खटाएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । प्रहरी निरीक्षक शाहीले रसिद वडा नंं. १ अध्यक्षलाई बुझाएको भनेपनि रसिद लिएको बिषय अध्यक्ष मिन थापाले स्वीकारेनन् । नगदी रसिद काटेको बिल नबोकेको ट्याक्टरलाई प्रहरी नियन्त्रण लिएको र रसिद काटेको बिल देखाएपछि प्रहरीले छाडेको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर