बर्दिया, जेठ २६ (फरकसमाचार)/ गाई भैंसी पालनमा किसानलाई आत्मनिर्भर बनाउन तालिम दिईएको छ । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले जिल्ला स्तर तीन दिने वालीवस्तु विशेष (व्यवसायिक गाई भैंसी पालन) सम्बन्धि किसानलाई तालिम दिएको हो । जिल्ला स्तरको तालिममा आठ वटै पालिकाबाट १९ जना पशुपालक किसानको सहभागिता रहेको थियो । पशुपालक किसानलाई अनुदान उपलब्ध गराउनु भन्दा पशुपालनको लागि आवश्यक पर्ने ज्ञान सिप उपलब्ध गराउनुपर्ने माग पशुपालक किसानले राखेका छन् ।
तीन दिने तालिममा एकदमै महत्वपुर्ण कुरा सिक्ने अवसर पाएको बाँसगढी नगरपालिका–८ का पशुपालक कृषक विजय भण्डारीले बताए । ‘हामी पशुपालक किसानहरु दूधमा वृद्धि गरि कसरी आत्मनिर्भर हुन सक्छौं तालिमले सिकाएको छ’ भण्डारीले भने,‘त्यसको साथसाथै लेखा कसरी राख्ने, पशुलाई कसरी व्यवस्थित तरिकाले पाल्ने, गोठ, घाँसबालीको कसरी व्यवस्थापन गर्ने, आहारा कसरी पुरा गर्ने, दूध कसरी वृद्धि गर्ने, गुणस्तरीय दूधलाई मार्केटमा कसरी व्यवस्थापन गर्ने सिकेका छौं ।’ तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने कृषक भण्डारीले विश्वास व्यक्त गरे ।
व्यवसायिक पशुपालक कृषकलाई आवश्यक पर्ने सम्पुर्ण ज्ञान सिप तालिममा दिईएको राष्ट्रिय पशु प्रजनन् कार्यालय बाँकेका पशु विकास अधिकृत डा.मिलन कुमार चौधरीले बताए । यस तालिममा सिकेका कुरा लागु गर्नसमेत डा.चौधरीले भनाई राखे ।
पशुपालक किसानले दूध उत्पादन गरि अन्य जिल्लामा पठाउने गरेका छन् । दूध उत्पादनसंगसंगै बजारीकरणमा जोड्नको लागि किसानलाई गाई भैसी पालन सम्बन्धि तालिमको आवश्यकता रहेको महसुस गरि तालिमको आयोजना गरिएको एकिकृत तथा पशुपन्छी विकास कार्यालयका पशु विकास अधिकृत डा.सुमन खनालले बताए । ‘तीन दिने तालिमले पशुपालक किसानलाई थप मद्दत पुग्नेछ’ डा.खनालले भने,‘जिल्लाका पशुपालक किसानलाई हामीले आवश्यक ज्ञान सिप सिकाउनेछौं, तर हाम्रो सम्पर्कमा नआएका किसानलाई तपाईहरुले तालिममा सिकेका कुरा सिकाउनु होला ।’ साथै हाम्रो कार्यालयले दिने सेवाको बारेमासमेत किसानलाई जानकारी गराईदिन डा.खनालले अनुरोध गरे ।
तालिममा सहभागि किसानहरुलाई एकिकृत तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले पर्यटन र गाई भैसी पालनको महत्वको बारेमा प्रशिक्षण दिएका थिए । एकिकृत तथा पशुपन्छी विकास कार्यालयका पशु विकास अधिकृत डा.सुमन खनाल, भेटेनरी विज्ञ डा. किरण गाह, पशु चिकित्सक अनिल कुमार शर्मा र लेखापाल जगतराम चौधरीले लेखा व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएका थिए । त्यसैगरी कर्जा सम्बन्धि कर्जा सहजकर्ता स्वस्ती सिला पौडेलले प्रशिक्षण दिएकी थिईन् । व्यवसायिक गाई भैसी पालन तालिम बुधबार सुरु भई शुक्रबार समापन भएको छ ।