केरा खेती तर्फ उन्मुख कृषकलाई तालिम सुरु
सोमबार, जेठ २९, २०८० मा प्रकाशित

बर्दिया, जेठ २९ (फरकसमाचार) / केरा खेती तर्फ उन्मुख किसानको लागि तालिमको आयोजना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईले केरा खेती तर्फ उन्मुख किसानको लागि तीन दिने तालिमको आयोजना गरेको हो । जिल्लास्तर उन्नत प्रविधि/प्राथमिक प्रशोधन/पोष्ट हार्वेस्ट व्यवस्थापन कृषि यान्त्रिकीकरण सम्बन्धि तिन दिने कृषक तालिम गुलरिया(जिल्ला समन्वय समितिको हल)मा आइतबार देखि मंगलबारसम्म चल्नेछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईद्वारा गुलरिया, बाँसगढी र मधुवन नगरपालिकामा केरा जोन कार्यक्रम संचालनमा छ ।

परियोजनाको केरा जोन कार्यक्रमबाट कृषकहरुले केरा खेती गरि लोभलाग्दो आम्दानी गरिरहँदा नयाँ कृषक केरा खेती तर्फ उन्मुख भएका छन् । केरा जोन कार्यक्रम संचालित पालिकाका नयाँ कृषकलाई केरा खेती सम्बन्धि आवश्यक ज्ञान सिपसहित जानकारी दिन तालिमको आयोजना गरिएको छ ।

तालिमको उद्घाटन सत्रमा बोल्दै किसानले सिजनमा गुणस्तरीय केरा कसरी उत्पादन गरेर बढी आम्दानी गर्न सक्छ तालिममा बृहत छलफल हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईका प्रमुख कृष्ण धितालले बताए । ‘बजारमा उपभोक्ताले राम्रो हेरेर किन्छन्’ प्रमुख धितालले भने, ‘त्यस्तो आकर्षक ठुला कोषा भएका केरा कसरी उत्पादन गर्ने तालिममा सिकाइन्छ ।’ उपभोक्ताले खोजे जस्तै केरा उत्पादन गर्न सक्यो भने कृषकले चाहे अनुसार आम्दानी गर्न सक्छ । केराको खेतीको लागि बेर्ना उमार्ने, तयारी केरालाई काट्ने र पकाउने मात्र नभई यसको बजारीकरण कसरी गर्ने, यान्त्रिकीकरणका सम्भावना कस्ता छन् सबै बुझाईन्छ ।

केरा खेतीमा देखिएका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने उपायहरुको बारेमा छलफल गर्छौ । केरा खेती विस्तार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा केराका बेर्ना, मोटर तथा मेसिनरी यन्त्र परियोजनाले उपलब्ध गराउने प्रमुख धितालले सुनाए । भदौ, असोज, कात्तिक र मंसिर केराको सिजन हो । केरा जोन कार्यक्रमबाट ३ सय हेक्टरमा केरा खेती गरिएको छ । केरा खेतीलाई विस्तार गर्ने लक्ष्यकासाथ अघि बढिरहेको परियोजना प्रमुख धितालले जनाए ।

तालिममा ३० भन्दा बढी कृषकहरुको सहभागिता छ । कृषि अनुसन्धान निर्देशनालय खजुराका वरिष्ठ बैज्ञानिक वसन्त चालिसेले कृषकलाई प्रशिक्षण दिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईका सुचना अधिकारी नरेन्द्र कुमार सुनारले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रमका सहभागीहरुलाई लेखापाल सर्जन शाहीले स्वागत मन्तव्यले स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, केरा जोन संचालन समन्वय समितिका संयोजक टंकनाथ योगीलगायत कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय