ज्ञानेन्द्र पोखरेल
बर्दिया, असार १ / बढैयाताल गाउँपालिका –६ ले महिलाहरुलाई तीन महिने सिलाई कटाई तालिम दिएको छ । तालिममा सिकेको सिपलाई आयआर्जनमा जोड्न सहभागि महिलाहरुले बताएका हुन् । वडाले चालु आर्थिक वर्षको बजेटबाट वडाका लक्षित बर्गका १ सय महिलालाई तीन महिने सिलाई कटाई तालिम दिएको छ ।
महिलाहरूलाई सिपमुलक तालिम दिएर आयआर्जनसंग जाडने उद्देश्यका साथ संचालन गरिएको सिलाई कटाई तालिम बिहीबार समापन भएको वडा नं. ६ का वडाध्यक्ष शुक्रराज सापकोटाले जानकारी दिए । तालिम वडा नं. ६ को भदोही, उच्चागाउँ र खल्लागाउँमा संचालन भएको थियो ।
सिकेको सिपलाई निरन्तरता दिई आयआर्जनमा जोडि आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै सिलाई कटाई तालिमका सहभागीहरूलाई अध्यक्ष त्रिपाठि र अधिकृत ऐडिले प्रमाणपत्र प्रदान गरेका थिए । सीपमुलक तालिम छोटो भएको र आगामि दिनहरूमा कम्तीमा छ महिना भन्दा बढीको सिममुलक तालिम राख्नु पर्ने सहभागीहरुको भनाई छ ।
तालिम समापन कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडि, वडा नं. ६ का अध्यक्ष शुक्रराज सापकोटा, वडा नं. ५ का अध्यक्ष तुलाराम थारु, महिला शाखा प्रमुख सुजिता चौधरी, वडा सदस्यहरू गोबिन्द राम थारु, बाल कुमारी बिक लगायत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।