रोजगारी नखोस्न माग गर्दै अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित
शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

बर्दिया, असार १ (फरकसमाचार) / रोजगारी नखोस्न माग गर्दै अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित भएका छन् । गत जेठ १५ गते बजेट भाषण मार्फत अतिरिक्त हुलाक खारेज गर्ने घोषणाको घोर आपत्ति जनाउँदै अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित भएका हुन् ।

अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर, लामो समय देखि कार्यरत कर्मचारीको रोजगारी खोस्न पाइदैन, सेवालाई पुनःसंरचना गर, संरचना गर्दा आवश्यकताका आधारमा अतिरिक्त हुलाक एवम् इलाका हुलाकहरुलाई मर्ज गर्ने कार्यविधि बनाई स्वच्छिक प्याकेज ल्याई कर्मचारी संख्या र कार्यालय कम गराउन सक्ने वर्तमान कामको तरिकामा परिमार्जन गरी समय सापेक्ष गरिनुपर्ने ।

योग्य कर्मचारीहरुलाई उचित सेवा सुविधासहित पुराकाम पुरादामको व्यवस्था गरी रोजगारीको हक अधिकार नखोस्न माग गर्दै नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन समिति आन्दोलनमा उत्रिएको छ । जेठ २५ गते पोखरामा भएको केन्द्रिय समितिको निर्णय र मागलाई सहमति जनाउँदै शान्तिपुर्ण आन्दोलनमा उत्रिएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियाका अध्यक्ष राम बहादुर थापाले बताए । ‘बर्दिया जिल्लामा अतिरिक्त हुलाकका ८३ जना कर्मचारी छौं’ अध्यक्ष थापाले भने,‘सरकारले हाम्रो मागलाई बेवास्ता गरे अतिरिक्त हुलाकले दिने सम्पुर्ण सेवा बन्द गर्न बाध्य हुनेछौं ।’

विस २०४० देखि मंसिर १ गते देखि निरन्तर कार्यरत रहेको अतिरिक्त हुलाक कार्यालय बाँसगढीका अतवारी थारुले बताए । ‘सुरुमा मासिक तलब रु ९० थियो, अहिले आएर रु ८ हजार पुगेको छ’ थारुले भने,‘काम गरेको ४० वर्ष पुग्दासमेत सरकारले वेवास्ता गरेर हाम्रो रोजगारी खोस्न लागेको छ ।’

४० वर्ष योगदान पु¥याउँदा पनि सरकारले हामीलाई नअंङगालेको ठाकुरबाबा नगरपालिका–८ चितकैयाका ६५ वर्षिय बिरसिंह अधिकारीले दुखेसो पोखे । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियाले मागसहित आन्दोलित भएको जानकारी गराउँदै शुक्रबार जिल्ला हुलाक कार्यालय र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाललाई जानकारी पत्र बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय