बर्दिया, असार ४ (फरकसमाचार) / गुलरिया नगरपालिका–७ स्थित बाईपासमा मिल्ने चालु ग्राभेल बाटो बन्द हुँदा स्थानीयलाई सास्ती खेप्नु परेको छ । चालु बाटो एकाएक बन्द हुदाँ गुलरिया बजार आउँन स्थानीयलाई सास्ती व्यहोर्नु परेको हो । नंम्बरी जग्गामा रहेको ग्राभेल बाटो जग्गाधनीले बन्द गरेका छन् । केही वर्ष अघि ७ नंम्बर वडा कार्यालयको बजेटबाट कच्ची बाटो ग्राभेल भएको थियो ।
गुलरिया नगरपालिकाले पुलसहितको बाटो निकाल्ने सहमतिमा बाटो दिएको जग्गाधनी घनश्याम यादवले बताए । ‘बाटो निकालेको यतिका दिन बितिसक्दा पनि पुल निर्माणको लागि कुनै पहल गरिएको छैन’ यादवले भने,‘अब नगरपालिकाले सहमति जुटाएपछि मात्र बाटो खोल्छौं ।’
बाटो खोलाउन पहल गरिरहेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘जग्गाधनीसंग आइतबार छलफल गरेको छु’ नगर प्रमुख यादवले भने,‘बाटो नंम्बरी जग्गामा छ, तर चलन चल्तीको बाटो बन्द नगर्न जग्गाधनीसंग छलफलमा राखेको छु ।’ पुल निर्माण गर्न नगरपालिकासंग बजेट छैन । पुल निर्माणको लागि पुल महाशाखाको पटक पटक ध्यानाकर्षण गराएका छौं ।
यसपाली पनि माग गर्ने छौं । पुल त्यति ठाउँमा बन्ने जग्गाधनीलाई अवगत गराएको छु । जग्गाधनीले सल्लाह गरेर मात्र प्रतिक्रिया दिने नगर प्रमुख यादवले जानकारी दिए ।