वन वन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखीकरण
मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

बर्दिया, असार ५ (फरकसमाचार) / मधुवन नगरपालिकामा वन वन्यजन्तु संरक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । मधुवन नगरपालिकाको आर्थिक सहयोग र सञ्चारीका समुहको आयोजनामा सोमबार एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, बडघर र संचारकर्मीहरु बिच वन्यजन्तु संरक्षण सम्बन्धि बृहत छलफल भएको छ ।

वन्यजन्तुबाट यहाँका अधिकांश वडा प्रभावित भएको मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले बताईन् । ‘वन्यजन्तु र मानव बिचको बढ्दो द्वन्द्वलाई न्युनिकरण गर्न अभिमुखीकरणले सहयोग पुग्नेछ’ उप–प्रमुख चौधरीले भनिन्,‘मानव र वन्यजन्तु बिच सहअस्तित्व कायम गर्दै संरक्षण गर्न आवश्यक छ ।’ वन र वन्यजन्तु हाम्रै सम्पत्ति हुन त्यसैले दुवै बिच सहअस्तित्व कायम गर्दै रणनीति बनाउनु पर्छ ।

बाघको संख्या बढेकोले बढी आक्रमण भईरहेको मधुवन नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र हमालले बताए । ‘एउटा बाघलाई कति एरिया आवश्यक पर्छ, अध्ययन हुन जरुरी छ’ अध्यक्ष हमालले भने,‘बढी भएका बाघलाई अन्यत्र स्थान्तरण गर्नुपर्छ ।’

वन्यजन्तुबाट यहाँका जनतालाई जोगाउन ठोस रणनीति बनाउन आवश्यक रहेको मधुवन नगरपालिका–३ का अध्यक्ष नारायण मल्लले बताए । घाँस दाउराको लागि वनमा अश्रित रहेका परिवारलाई वैकल्पिक रुपमा ग्याँस र घाँसको लागि घाँसका बिउविजन वितरण गर्न जरुरी रहेको अध्यक्ष मल्लले जनाए ।
जैविक विविधता संरक्षण किन गर्ने र यसको महत्वको बारेमा कृष्णसार संरक्षण क्षेत्रका प्रमुख विनय कुमार झाले प्रशिक्षण गरेका थिए । जैविक विविधतामा नेपाल एसियाको ११औं र विश्वको २५औं देशमा पर्छ । हामी जैविक विविधतामा धनी छौं । जैविक विविधताले हामी विश्वमा चिनिएका छौं त्यसैले संरक्षणमा ध्यान दिन जरुरी छ । वन र वन्यजन्तुको संरक्षणको लागि अब समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । सरकारी कर्मचारीले मात्र वन्यजन्तुको संरक्षण सम्भव नभएको सुनाए ।

जबसम्म समुदायका लागि आम्दानी गर्ने जस्ता नीति सरकारले ल्याउदैन तबसम्म वन र वन्यजन्तुको संरक्षण प्रभावकारी नहुने प्रमुख झाले जनाए ।
अभिमुखीकरण कार्यक्रममा सञ्चारीका समुह लुम्बिनी प्रदेशकी उपाध्यक्ष रुपा गहतराज, महासचिव मेनका चौधरी, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर