नगरसभामा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
सोमबार, असार ११, २०८० मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असार ११ (फरकसमाचार) / गुलरिया नगरपालिकाले दशौं नगरसभामा आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक निति तथा कार्यक्रम वाचन गरेर आइतबार सार्वजनिक गरेका हुन् । गुलरिया नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रममा नगरका विभिन्न योजनालाई प्राथमिकता दिनेगरि नीति तथा कार्यक्रम ल्याएको छ ।

सहकारीको सिद्धान्त बमोजिम नियमन, अनुगमन, निरीक्षण गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ । भौतिक प्रर्वाधार, शिक्षा, युवा तथा खेलकुद, कृषि तथा पशुपंक्षी पालन सम्बन्धि, स्वास्थ्य खानेपानी तथा सरसफाई, पर्यटन संस्कृति तथा बातावरण, फोहरमैला व्यवस्थापन, सामाजिक विकास, भुमि व्यवस्थापन, महिला बालबालिका तथा जेष्ठ नागरिक, राजस्व तथा कर प्रणाली, संगठन तथा जनशक्ति विकास र सुचना तथा पारदर्शितालाई प्राथमिकतामा राखी गुलरिया नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रमले ग्रामिण र सहरी क्षेत्र बिच अन्तरसम्बन्ध रहेका आयोजनालाई प्राथमिकता दिई आयमुलक रोजगारीका अवसर सृजना गर्दै गरिबी न्युनिकरण गर्ने उदेश्य लिएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखी एक वडा एक स्वास्थ्य संस्थाको अवधारणा बमोजिम प्रत्येक वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गरिएको छ । संचालन गरिएका स्वास्थ्य केन्द्रहरुको स्तरोउन्नती गरी गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्य नगरपालिकाले लिएको छ । सामाजिक सचेतना, गरिबी न्युनिकरण, प्रकोप व्यवस्थापन आदिका लागि समुदाय स्तरमा व्यापक कार्यक्रम परिचालन गरिने जनाईएको छ ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको अवस्थाबारे गुलरिया नगरपालिकाकी नगर उप–प्रमुख सावित्रा गौतमले जानकारी गराएकी थिईन् । चालु आर्थिक वर्ष २०७९/०८० मा चालु तथा पुँचीगत खर्च गरी कुल रु १ अरब १३ करोड बजेट विनियोजन भएको थियो । यद्यपि विभिन्न समयमा सशर्त अनुदानमा रकम थपघट भई हाल कुल बजेटको सिमा करिब रु १ अरब २३ करोड कायम भएको छ । त्यसैगरी आन्तरिक राजश्व तर्फ रु ३ करोड ५९ लाख अर्थात ९९ प्रतिशत संकलन भएको छ । यो हाल सम्मकै उच्च संकलन भएको उप–प्रमुख गौतमले जनाईन् । संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडको रकम भने करिब ६७ प्रतिशत मात्र प्राप्त भएको सुनाईन् । जेठ मसान्त सम्म कुल बिनियोजित बजेटको ५९ प्रतिशत खर्च भएको उप–प्रमुख गौतमले प्रस्तुत गरिन् ।

त्यसैगरी आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको उदेश्य प्राथमिकताको बारेमासमेत उप–प्रमुख गौतमले प्रस्तुत गरेकी थिईन् । आगामी आर्थिक वर्षमा सशर्त अनुदान तर्फ संघिय सरकारबाट रु ३१ करोड ४० लाख र प्रदेश सरकारबाट रु ८१ लाख रकम बराबरको योजना तथा कार्यक्रम प्राप्त भएको उप–प्रमुख गौतमले प्रस्तुत गरेकी छन् ।

गुलरिया नगरपालिकाको दशौं नगरसभा कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, निर्वाचित जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय