मर्दसा र कर्बलाको उचित व्यवस्था गर्न मुस्लिम समुदायको माग
मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

बर्दिया,असार १२ (फरकसमाचार) / मर्दसा र कर्बलाको उचित व्यवस्था गर्न मुस्लिम समुदायका अगुवाहरुले माग गरेका छन् । मुस्लिम आयोगको आयोजनामा सोमबार आयोजित मुस्लिम समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि मुस्लिम आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम अगुवाहरुले यस्तो बताएका हुन् । अन्तरक्रिया मार्फत आयोगले यहाँका मुस्लिम समुदायको समस्या संकलन गर्ने र समस्याको समाधान गर्न पहल गर्ने जनाईएको छ ।
मुस्लिम समुदायको विकासमा धेरै चुनौती रहेको बताउँदै अगुवाहरुले आयोगसंग आक्रोस पोखेका छन् ।

मुस्लिम समुदायको मर्दसा र कर्बलाको समस्या रहेको मोहम्मद कर खाँले बताए । ‘हाम्रो समुदायमा धेरथोर मर्दसा छन् तर, स्तरोउन्नति भएका छैनन्’ खाँले भने,‘सामुदायिक विद्यालयका शिक्षकले राम्रो तलब पाउँछन् तर, मुस्लिम समुदायका मर्दसामा पढाउने मोलबि मौलानाले न्युनतम तलबमा पढाउन बाध्य भएका छन् ।’ त्यसैगरी मुस्लिम समुदायमा कर्बलाको व्यवस्था छैन । मुस्लिम समुदायका मानिस मरेपछि कब्रुस्तानको उचित व्यवस्था नहुँदा दुःख भोगिरहेका छन् । सरकारले जग्गा किनेर भएपनि मुस्लिम समुदायलाई कब्रुस्तानको व्यवस्था गर्नु पर्ने खाँले माग गरे ।

त्यसैगरी मुस्लिम समुदायका अन्य अगुवाहरुले मुस्लिम समुदायको मर्दसामा दिने शिक्षालाई व्यवस्थित गर्न र जीर्ण अवस्थामा रहेको मस्जिदको मर्मत सम्भार गर्न आयोगसंग आग्रह गरेका छन् ।

मुस्लिम अगुवाहरुले उठाएको जिज्ञासाको जवाफ दिदै मुस्लिम आयोगले मुस्लिम समुदायको हकहितको लागि निरन्तर लडिरहेको बरिष्ठ सदस्य मिर्जा अर्सद बेगले बताए । ‘पाएको हक अधिकार भित्र रहेर मुस्लिम समुदायको विकासको लागि आयोग निरन्तर लागिरहेको छ’ बरिष्ठ सदस्य बेगले भने,‘मुस्लिम समुदायको विकासको लागि आयोगले सिफारिस गर्छ, तर सरकारले सुनुवाई गर्दैन ।’ तपाईहरुले चुनेर पठाएका संघिय तथा प्रदेश सांसदहरुसंग तपाईहरुले यस्तै गरि सोध्नुस् ।’ मुस्लिम समुदायको माग सुनुवाई नहुँदा एक जुट भएर प्रजिअ मार्फत सरकारको ध्यानाकर्षण गर्नुस् । मुस्लिम समुदायको विकासको लागि आयोग सधैं तपाईहरुको साथमा रहने सदस्य बेगले सुनाए ।

मुस्लिम समुदायको हक हितको लागि आयोग गठन भएको मुस्लिम आयोगका बरिष्ठ सदस्य महमदिन अलिले बताए । ‘मुस्लिम समुदायको अवस्था, समस्याको पहिचान, मर्दसाबाट कस्तो शिक्षा पाएको, मस्जिद, इदगह, कर्बलाको अवस्था कस्तो छ र यीनीहरुको विकासको लागि स्थानीय सरकार कसरी सहयोग गरेको छ’ बरिष्ठ सदस्यले भने,‘यस अन्तरक्रियाबाट मुस्लिम आयोगले समस्या ग्रहण गरि आफ्नो तर्फबाट समाधान गर्ने पहल गर्नेछ ।’ यस अन्तरक्रिया कार्यक्रमले मुस्लिम समुदाय र आयोग बिचको दुरी नजिक बनाउने सदस्य अलिले विश्वास व्यक्त गरे ।

संविधानले दिएको हक अधिकारको सम्बन्धमा यस समुदायलाई कहिल्यै मतभेद नगर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।
अन्तरक्रिया कार्यक्रममा मुस्लिम आयोगका बरिष्ठ सदस्य महमदिन अलि, बरिष्ठ सदस्य मिर्जा अर्सद बेग, प्रजिअ नारायण प्रसाद रिसाल, मुस्लिम आयोगका पुर्व अध्यक्ष नसरुदिन शेष, पुर्व संविधान सभा सदस्य कसिमअलि सिद्दिकी, जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहरा, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्यलगायत मुस्लिम समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर