ज्ञानेन्द्र पोखरेल
बर्दिया,असार १५/ माछा पालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न जातका माछाका भुरा वितरण गरिएको छ । संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तरगत बढैयाताल गाउँपालिका र स्थानिय कालिका मत्स्यपालन कृषक सहकारी सस्था लिमिटेडसंगको सहकार्यमा माछा पकेट विकास कार्यक्रमको आब ०७९÷०८० को बजेटबाट खरिद गरिएको माछाका भुरा बिहीबार कार्यक्रम गरि किसानहरूलाई बितरण गरिएको हो ।
बढैयाताल गाउँपालिका – ८ कन्ठपुरमा रहेको कालिका मत्स्यपालन कृषक सहकारीको कार्यालयमा एक कार्यक्रम गरि कृषकलाई माछाका भुरा बितरण गरिएको छ । ग्रास, रहु, नैनी र कमन जातका माछाका भुरा रु ४ लाख बराबरको ५० प्रतिशत अनुदानमा वितरण गरिएको बढैयाताल गाउँपालिका–८ का वडा अध्यक्ष तेजनाथ पौडेलले जनाए ।
माछाका भुरा बितरण कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठि, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, पशु शाखाका प्रमुख अशोक उपाध्याय, वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेल, कालिका मत्स्यपालन सहकारीका शिव आचार्य र ईन्द्र प्रसाद लुईटेल लगायत कृषकहरुको सहभागिता रहेको थियो ।