बर्दिया,असार १७ (फरकसमाचार) / प्रहरीको हिरासत कक्षबाट भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–५ गाउँ नंम्बर ७ का १९ वर्षिय अजय नेपाली र वडा नंम्बर ५ गाउँ नंम्बर ७ का २० वर्षिय राजा नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । ज्यान मार्ने उद्योगमा दुवै जना असार ८ गते देखि अनुसन्धानकै क्रममा ईलाका प्रहरी कार्यालय ढोढरीको हिरासतमा थिए ।
दुवै जना शुक्रबार ६ बजेर १० मिनेटको समयमा हिरासतबाट भागेका थिए । प्रहरीको हिरासतबाट भागेका दुवै जनालाई पक्राउ गर्न व्यापक रुपमा प्रहरी परिचालन भएका थिए । खोजतलासकै क्रममा अजयलाई मधुवन नगरपालिका–५ गाउँ नंम्बर १० स्थित बेलझुण्डी सामुदायिक वनबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
त्यसैगरी राजालाई मधुवन नगरपालिका–५ स्थित डाँडे सामुदायिक वनबाट शनिबार नियन्त्रणमा लिईएको छ । दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धानको लागि पुनःईलाका प्रहरी कार्यालय ढोढरीको हिरासतमा राखिएको डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।