न्याय दिलाउँन न्यायिक समिति अब्बल
आइतबार, असार १७, २०८० मा प्रकाशित

बर्दिया,असार १७ (फरकसमाचार) / गुलरिया नगरपालिकाको न्यायिक समितिले पिडितलाई न्याय दिलाउँन अब्बल रहेको छ । पछिल्लो समयमा नगरपालिकाको न्यायिक समितिले नगरवासीलाई उचित न्याय दिलाई अब्बल सावित भएको गएको हो । गुलरियाको न्यायिक समितिमा महिला हिंसा, जग्गा विवाद, लेनदेन विवाद र पति पत्नि विवाद जस्ता मुद्दा दर्ता भएको पाईएको छ ।

गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा गुलरिया नगरपालिकाको न्यायिक समितिमा बढी मुद्दा दर्ता भएको रेकर्ड छ । न्यायिक समितिले दुवै पक्षका व्यक्तिलाई उचित न्याय दिलाएर पछिल्लो समयमा नगरवासी समक्ष लोकप्रिय बन्दै गएको बुझिन्छ । गत आर्थिक वर्ष गुलरिया नगरपालिकाको न्यायिक समितिमा १३ वटा मुद्दा दर्ता भएको थियो । जसमा १२ वटा मुद्दा फछ्र्यौट भएको र एउटा मुद्दा मात्र फछ्र्यौट नभएको रेकर्डले देखाएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म विधिवत रुपमा २३ वटा मुद्दा दर्ता भएको गुलरिया नगरपालिकाको न्यायिक समितिको तथ्यांक छ । महिला हिंसा सम्बन्धि १, जग्गा विवाद सम्बन्धि १६, घर भाडा सम्बन्धि १, लेनदेन सम्बन्धि २, परापुर्व देखि चलिआएको बाटो निकास सम्बन्धि १ र पति पत्नि विवाद २ मुद्दा दर्ता भएका छन् । त्यसै गरी अन्य फुटकर निवेदन ५० वटा आएको प्रस्तुतीकरणमा कानुन शाखाका प्रमुख कपिल घिमिरेले बताए ।

न्यायिक समितिमा दर्ता भएका मुद्दाहरुमा महिला हिंसाको मुद्दा मेलमिलाप भएको छ । जग्गा सम्बन्धि दर्ता भएका १६ वटा मुद्दामा ९ वटा कारवाहीमा रहेको, ५ वटा जिल्ला अदालत पठाईएको र २ वटा मुद्दा न्यायिक समितिले मेलमिलाप गराएको छ । त्यसैगरी लेनदेनका २ वटै, घर भाडाको १, पति पत्निको १ मुद्दा मेलमिलाप भएको छ । बाटो निकासको कारवाहीमा रहेको छ । अन्य फुटकर निवेदनमा ४० वटा मेलमिलाप भएको र १० वटा कारवाहीमा रहेको न्यायिक समितिको रेकर्डले पुष्टि गर्छ ।

गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमको संयोजकत्व तथा १० जना सुचिकृत मेलमिलापकर्ताको सहयोगमा मेलमिलाप गराउने गरिएको छ । नगरपालिकाद्वारा मेलमिलापको तालिमा लिएका ३६ जनालाई आगामी आर्थिक वर्षमा सुचिकृत गर्ने न्यायिक समितिको योजना छ ।

न्यायिक समितिले आगामी दिनमा प्रभावकारी कार्यसम्पादन गर्न रचनात्मक सुझावको लागि संचारकर्मीसंग छलफल गरिएको गुलरिया नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समितिकी संयोजक सावित्रा गौतमले बताईन् । न्यायिक समितिले सम्पादन गरेका न्यायका विषयमा संचारकर्मीसंग शुक्रबार अभिमुखिकरण कार्यक्रम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय