बर्दिया,असार १९ (फरकसमाचार) / बढैयाताल गाउँपालिका–६ भदोही स्थितबाट अबैध कुखुरासहित प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ । कुखुरासहित प्रहरीले बढैयाताल गाउँपालिका–४ का ३६ वर्षिय हरि चौधरी र ३२ वर्षिय सुनिता चौधरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मुल्य रु ३३ हजार ५ सय बराबरको अबैध कुखुरा बरामद भएको छ । मानिससहित बरामद कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय गुलरियामा बुझाएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।
सिमानामा कुखुरा तस्करी नरोकिदाँ स्थानीय कुखुरा व्यवसायी विस्थापित हुन बाध्य व्यबसायिले बताएका छन् । भारतीय बजारबाट सजिलै सस्तोमा कुखुरा भित्रिदाँ स्थानीय व्यवसायी विस्थापित हुन बाध्य भएका हुन् । जिल्लाको ८३ किलोमिटर भारतसंग खुल्ला सिमाना छ ।
खुल्ला सिमानाका कारण भारतबाट सजिलै कुखुरा भित्रिदाँ ५० प्रतिशत स्थानीय कुखुरा व्यवसायी विस्थापित भईसकेको कुखुरा व्यवसाय संघका अध्यक्ष अशोक कार्की क्षेत्रीले बताए । ‘सुरक्षाकर्मीको सहारा लिई भईरहेको कुखुरा तस्करी रोक्न प्रयासमा जुटेका छौं’ अध्यक्ष क्षेत्रीले भने,‘खुल्ला सिमानाले कुखुरा तस्करी रोक्न चुनौती छ ।’ कुखुरा तस्करी रोक्न कुखुरा पालक किसानहरु सिमामा परिचालित भएका छन् । यस कार्यमा सुरक्षाकर्मीले सघाँएको अध्यक्ष क्षेत्रीले सुनाए ।
भारतीय कुखुरा स्वास्थ्यको लागि हानिकारक छ । सस्तोको लोभमा व्यक्तिहरु चोरी निकासी गर्न ललाईत भएका छन् । भारतीय कुखुराबाट बर्डफ्लु र रानीसेट जस्ता हावामा सर्ने रोगहरु भित्रिने उच्च जोखिम छ । त्यसैले सस्तोको चक्करमा स्वास्थ्यसंग खेलवाड नगर्न अध्यक्ष क्षेत्रीले अनुरोध गरे । सिमामा हुने कुखुरा तस्करीलाई नियन्त्रण गर्न आठ वटै स्थानीय तहमा उपसमिति बनाएर अघि बढ्ने योजना रहेको अध्यक्ष क्षेत्रीले जनाए ।