राम प्रसाद चौहान
बर्दिया, असार २० (फरकसमाचार) / ईन्धन व्यबसायीले डिजेलका लागि कृतिम अभाव सिर्जना गरेका छन् । लामो समय खडेरीले खेतमा धाजा फाटेको छ । रासायनिक मलको चर्को अभाव झेल्नु किसानको बिबशता हो । त्रिपक्षिय अभाव झेलिरहेका किसान मानो रोपेर मुरी फलानो सपना यस वर्ष पनि अधुरो हुने देखिएको छ ।
किसानको समस्यालाई सम्बन्धित निकायले दीर्घकालीन रुपमा समाधान गर्न कुनै ठोस कदम चालेको देखिदैन । जब समस्याको व्यापक चर्चा परिचर्चा हुन्छ तब मात्र समाधान गर्ने आश्वासन दिईन्छ, त्यसपछि सेलाउँछ । जब खेती गर्ने सिजन आउँछ तब मात्र यो समस्या चर्चाको विषय बन्ने गर्छ । रोपाई गर्ने बेलामा मल जलको समस्याले किसानहरुलाई निराश बनाएको छ । आधा असार बितिसक्दा पनि किसानलाई प्रयाप्त मल उपलब्ध भएको छैन । अहिले किसान खेतमा धान रोप्नु पर्ने बेला हो तर,मलको जोहो गर्दै भौतारिनु पर्ने बाध्यता छ ।
एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । हालसम्मा ३६.८७ प्रतिशत मात्र धान रोपाई भएको छ ।
गुलरियाका अधिकांश किसानहरु रोपाई गर्न अकासे पानीको सहारामा बसेको गुलरिया नगरपालिका–९ का भगौती लोधले बताए । ‘अहिलेसम्म प्रयाप्त पानी परेको छैन’ लोधले भने ‘पम्पीसेटबाट सिचाई गर्न डिजेलको अभाव देखिएको छ ।’
अहिले हामीलाई मल र सिचाई गर्न डिजेलको समस्या रहेको गुलरिया नगरपालिका–७ का प्रमेश यादवले बताए । ‘धान रोप्नु पर्ने बेलामा यस्तो समस्या छ ’ यादवले भने,‘कसरी धान लगाउने चिन्ता भईरहेको छ ।’ मल पनि पाईएको छैन । किसानलाई खेती गर्न समस्या छ । आवश्यक मात्रामा मल नपाउँदा अन्नबाली कसरी फलाउने किसानमा चिन्ता छाएको यादवको भनाई छ ।
जिल्लाको लागि आवश्यक पर्ने मल उपलब्ध नहुदाँ समस्या देखिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय गुलरियाका निमित्त प्रबन्धक लाल बहादुर थारुले बताए । ‘जिल्लाको लागि अपुग मल आउँछ’ निमित्त प्रबन्धक थारुले भने,‘खेती हुने क्षेत्रफलको आधारमा आठ वटै पालिकालाई मल बाडफाँड गर्छौ ।’ पालिकालाई भाग परेको मल सहकारी मार्फत दिन्छौं ।’
आएको मलबाट गुलरिया नगरपालिकालाई ६४ टन मल भाग परेको थियो । तानतुन गरेर ९५ टन मल दिएका छौं । गुलरिया नगरपालिका अन्र्तगतका १९ वटा सहकारी मार्फत किसानको लागि मल दिएका छौं । प्रत्येक सहकारीलाई सय बोरी युरिया र सय बोरीका दरले डिपी दिएका छौं । गुलरिया नगरपालिकाको लागि ४ सय १७ टन मलको आवश्यकता पर्छ तर, ९५ टन मात्र वितरण भएको छ । यो मलको परिमाण अपुग हो । अपुग भएको जानकारी हुँदा हुँदै पनि आफुले केही गर्न नसक्ने निमित्त प्रबन्धक थारुले सुनाए । मलको नयाँ लट असार २५ गतेपछि मात्र उनको भनाई छ ।
मल वितरणको लागि जिल्लामा १ सय २० वटा सहकारी दर्ता भएका छन् । बैशाख देखि हालसम्म ६ सय ७७.२५ मेट्रिक टन डिपी र ९ सय ८१.५ मेट्रिक टन युरिया सहकारी मार्फत दिएको रेकर्ड छ । अब ४४ मेट्रिक टन डिपी र २ सय २३ मेट्रिक टन युरिया स्टक छ । मल नलगेका सहकारीलाई दिने काम भईरहेको छ ।
जिल्लाको लागि सरकारले दिएको कोटा कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ्गले वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘जिल्लाको लागि प्रयाप्त मल आएको छैन’ प्रजिअ रिसालले भने,‘थप मलको लागि पहल गरिरहेको छु ।’ थप मल आयो भेन सहज हुनेछ । डिजेल नपाएको जानकारी आफुलाई नआएको यस विषयमा बुझ्न लगाउने प्रजिअ रिसालले जानकारी दिए ।