गुलरिया नगरपालिकामा लैङगिक हिंसाका बढी केस
मङ्गलबार, असार २६, २०८० मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,असार २६ (फरकसमाचार) / जिल्ला अस्पताल द्वारा संचालित लैङगिक हिंसा सम्बन्धि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) ले गुलरिया नगरपालिकामा सब भन्दा बढी लैङगिक हिंसा सम्बन्धि केस देखाएको छ । सोमबार आयोजित ओसिएमसिको वार्षिक समिक्षामा प्रस्तुत गरिएको तथ्यांकले गुलरिया नगरपालिकामा सब भन्दा बढी लैङगिक हिंसा सम्बन्धि केस देखाएको हो । गुलरियामा चालु आर्थिक वर्षमा लैङगिक हिंसामा परेर ९४ जनाले अस्पतालको ओसिएमसिमार्फत सेवा लिएको रेकर्ड छ । गत आर्थिक वर्ष लैङगिक हिंसाका १ सय ४७ केस ओसिएमसिमा आएको थियो भने चालु आर्थिक वर्षमा बढेर २ सय ६७ केस पुगेको छ ।

गुलरियाका ९४, बारबर्दियाका ४२, बाँसगढीका ११, राजापुरका ३०, ठाकुरबाबाका ५ र मधुवन नगरपालिकाका ४१ जना लैङगिक हिंसामा परेर अस्पतालको ओसिएमसि मार्फत सेवा लिएका छन् । गेरुवा नगरपालिकाका १५ र बढैयातालका २६ जनाले पिडितले सेवा लिएका छन् । जिल्लाको आठ वटै स्थानीय तह मध्ये सब भन्दा बढी गुलरियामा लैङगिक हिंसामा परेर ओसिएमसिमा सेवा लिएको रेकर्डले पुष्टि गरेको छ ।

त्यसैगरी अन्य जिल्ला कैलालीका १ र बाँकेका २ जनाले सेवा लिएको बर्दिया अस्पताल ओसिएमसिकी सम्पर्क व्यक्ति तथा मनोसामाजिक परामर्शकर्ता सपना बाठा मगरले प्रस्तुतीकरण गरिन् । चालु आर्थिक वर्षमा २ सय ६७ जना लैङगिक हिंसा पिडितले ओसिएमसिमार्फत सेवा लिएको ओसिएमसिकी सम्पर्क व्यक्ति तथा मनोसामाजिक परामर्शकर्ता सपना बाठा मगरले बताईन् । ‘जसमा महिला २ सय ६० र पुरुष ७ जना छन्’ परामर्शकर्ता मगरले भनिन्,‘उहाँहरुलाई निशुल्क उपचारको साथै उचित काउन्सिलिङ्ग गरेका छौं ।’

रेप केसमा पुरुष २ जना र महिला ३६ जना ओसिएमसि मार्फत सेवा लिएको रेकर्ड छ । त्यसैगरी रेप गर्न कोसिस गरिएको केसमा २१ जना, कुटपिट केसमा ५३, बालविवाह १ सय ५०, सेवा सुविधाबाट बञ्चित १, मानसिक रुपमा दुव्र्यवहार केसमा ४ र बहुविवाहमा २ जना ओसिएमसिबाट सेवा लिएको रेकर्ड देखिएको छ ।
प्रहरी, स्वास्थ्य संस्था, गैसस, स्थानीय निकाय, कानुनी उपचार र अस्पतालबाट हिंसा पिडितहरु ओसिएमसिमा निशुल्क उपचार र उचित व्यवस्थापनको लागि ओसिएमसिमार्फत सेवा लिने गरेका छन् ।

ओसिएमसिको रेकर्ड अनुसार बालविवाहका केस बढी देखिएको सहभागिहरुले औल्याएका थिए । बालविवाह न्युनिकरणको लागि समुदायमा जनचेतनामुलक अभियान चलाउन पर्ने सहभागिहरुले सुझाएका छन् ।

लैङगिक हिंसा नियन्त्रणको लागि समुदाय स्तरमा जनचेतना फैलाउनु पर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘लैङगिक हिंसा सम्बन्धि घटना न्युनिकरणको लागि समुदायका अगुवा तथा जनप्रतिनिधिमार्फत प्रचार प्रसार गर्नुपर्छ’ प्रजिअ रिसालले भने,‘सचेत गराउँदा गराउँदै लैङगिक हिंसा सम्बन्धि कुनै घटना घटेमा उपचार र कानुनी उपचारको लागि सम्बन्धित निकायसम्म कसरी पुग्ने समुदायमा व्यापक जानकारी गराउनुपर्छ ।’

ओसिएमसिको वार्षिक समिक्षामा प्रजिअ नारायण प्रसाद रिसाल, प्रहरी उपरीक्षक सुधिरराज शाही, अस्पताल विकास समितिका अध्यक्ष नारायण गौतम, अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, जिल्ला समन्वय समितिका समन्वय अधिकारी तथा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर