दश वर्षे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लक्ष्य नजिक
शुक्रबार, असार २९, २०८० मा प्रकाशित

बर्दिया, असार २९ (फरकसमाचार)/ कृषि विकास रणनीति र दिगो विकास लक्ष्य प्राप्त गर्ने उदेश्यले सरकारले संचालनमा ल्याएको दश वर्षे सरकारी परियोजना लक्ष्य नजिक पुग्दै गरेको संकेत दिएको छ । आर्थिक वर्ष ०७३/०७४ देखि सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले उलेख्य रुपमा उपलब्धी प्राप्त गरि लक्ष्य नजिक पुग्दै गरेको संकेत दिएको हो ।

परियोजनाले सात वर्षको अवधिमा जिल्लामा गरेको कार्यसम्पादन र प्राप्त गरेको उपलब्धीले परियोजना लक्ष्य प्राप्तीको नजिक पुग्न लागेको अनुमान लगाउन सकिन्छ ।

परियोजनाले उत्पादनलाई उद्योगसंग जोड्न र कृषिलाई यान्त्रिकरण गर्न किसानलाई सघाउँदै आएको छ । आधुनिक यन्त्रको प्रयोगले किसानको लागत घटाउने र आम्दानी बढाउने काम परियोजनाले गरिरहेको छ । तीन जोनमा परियोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउँदा किसानलाई झन् सहज भएको छ । उत्पादन बढाउन किसानलाई आवश्यक तालिमसमेत परियोजनाले दिएको छ । यस कार्यले किसानले तीन जोनमा क्षेत्र विस्तार गरेको पाईएको छ ।

जिल्लामा धान, माछा, केरा, हिउँदे तथा बषन्ते मकै, आलु तरकारी र बाख्रामा परियोजनाले प्राथमिकता दिएको छ । विषेशगरी परियोजनाले तीन जोनमा उलेख्य उपलब्धी हासिल गरि चर्चा पाएको छ । धान सुपरजोन, केरा जोन र माछा जोनमा किसानले प्रत्येक वर्ष क्षेत्र विस्तार गरिरहेको पाईन्छ । २३ हेक्टर क्षेत्रफलबाट सुरु गरिएको चैते धानको क्षेत्रफल विस्तार भएर १ हजार १ सय ५० हेक्टर पुगेको छ । त्यसैगरी माछा २ सय ८८ र केरा ३ सय १६ हेक्टर विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाईले तथ्यांक सार्वजनिक गरेको छ ।

परियोजनाले चालु आर्थिक वर्षमा पावर टिलर १८, रीपर ५४, केज व्हील ६०, पानी तान्ने पम्प ६० लगायत साना ठुला मेसिनेरी ५० प्रतिशत अनुदानमा वितरण गरि किसानको धान उत्पादन लागत १५ प्रतिशत घटाएको छ । गुलरियामा २ वटा केरा पकाउने च्याम्बर स्थापना गरेको छ ।
त्यसैगरी त्यसैगरी १५ सिचाई पूर्वाधार तथा मर्मत संभार, १६ एरियटर, २ कम्बाइन्ड हार्भेष्टर, १ चिउरा मिल, २० हेक्टरमा सहकारी मार्फत चक्लाबन्दीमा केरा विस्तार, ४ ठाउँमा जिउँदो माछा विक्री स्टल र ८ हेक्टर माछा पोखरी विस्तार गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई बर्दियाका प्रमुख कृष्ण धितालले बिहीबार वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् ।

पुजीगत तर्फ रु ५५ लाख ३५ हजार र चालु तर्फ रु ५ करोड १५ लाख ८१ हजार वार्षिक विनियोजित बजेट रहेको परियोजना प्रमुख धितालले बताए । ‘जसमध्ये पूजीगत तर्फ रु ५१ लाख ८१ हजार र चालु तर्फ रु ४ करोड २६ हजार खर्च भएको छ’ प्रमुख धितालले भने,‘वार्षिक जम्मा रु ४ करोड ५२ लाख ८ हजार खर्च भएको छ ।’ चालु आर्थिक वर्षमा परियोजनाको ७९.१२ प्रतिशत वित्तिय प्रगति रहेको परियोजना प्रमुख धितालले जानकारी दिए । चैते धानको बिक्री मुल्य त्यसको प्रतिस्प्रर्धी बाली बसन्ते मकै र गहुँको भन्दा कम रहेकोले चैते धानको क्षेत्रफल कायम राख्न र विस्तार गर्न समस्या रहेको छ । चैते धानको न्युनतम समर्थन मुल्य तोकि खरिद व्यवस्थापन खाद्य व्यवस्था तथा व्यापार कम्पनी, सहकारीहरु मार्फत गर्ने व्यवस्थाका लागि गत असोजमा पत्राचार गरिएको, उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलब्ध गराउने प्रयास गरिएको प्रमुख धितालले जानकारी दिए ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा धान सुपरजोन कार्यक्रम संचालनमा छ । गुलरिया, बाँसगढी र मधुवन नगरपालिकामा केरा जोन र बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरिया, बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा माछा जोन कार्यक्रम संचालनमा छ ।

कृषि कर्मले बर्दिया जिल्ला अन्य जिल्लामा चिनिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘यस जिल्लाका किसानको जीवनस्तर सुधार गर्न हाम्रो दायित्व हो’ प्रजिअ रिसालले भने,‘संघ, प्रदेश र स्थानीय तह मिलेर किसानको जीवनस्तर उकास्न जरुरी छ ।’ किसानको उत्पादन नोक्सानीको सरकारले ग्यारेन्टी गर्नुपर्छ । अहिले गाउँघरमा जादाँ किसानको अवस्था दयनिय देखिने गरेको प्रजिअ रिसालले सुनाए । जो मान्छे रातदिन खेती गर्छ पशुपन्छी पाल्छ त्यसको जीवनस्तर दयनिय हुनु राम्रो होइन । वास्तविक किसान भन्दा अन्यले फाइदा लिईरहेका हुन्छन् । त्यसैले तीन तहकै सरकार मिलेर किसानको लागि काम गरे किसानलाई नै प्रत्यक्ष फाइदा हुने प्रजिअ रिसालले विश्वास व्यक्त गरे ।

पालिकाले सहयोग गर्न सक्दैन भने संरक्षण गर्न केरा जोन संचालन समन्वय समितिका संयोजक टंकनाथ योगीले औल्याए । अबैध आयातले केरा खेतीका किसान मर्कामा परेको संयोजक योगीले बताए । ‘पालिकाले आफ्नो पालिकामा अबैध आयात रोक लगाउन सक्छ’ संयोजक योगीले भने,‘पालिकाले आ–आफ्नो पालिकामा अबैध रुपमा आउने केरामा रोक लगाए भने केरा उत्पादन गर्ने किसानलाई फाइदा हुनेछ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आयोजनामा बिहीबार स्थानीय तहबाट संचालित पकेट विकास कार्यक्रको प्रगति समिक्षा तथा रिपोटिङ्ग कार्यक्रम गरिएको छ । आठ वटै पालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख तथा प्रतिनिधिले संचालित पटेक विकास कार्यक्रमको प्रगति विवरण प्रस्तु गरेका थिए । कार्यक्रममा प्रजिअ नारायण प्रसाद रिसाल, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख कृष्ण धिताललगायत आठ वटै पालिकाका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय