बर्दिया, असार ३१(फरकसमाचार)/ डिभिजन वन कार्यालयको वार्षिक कार्यसम्पादनको अनुगमनमा जिल्ला स्थित राजनीतिक दलले उत्साहजनक सहभागिता जनाएका छन् । जिल्लामा वनले गरेको कार्यसम्पादनमा चासो लिएर राजनीतिक दलका नेताहरुले उत्साहजनक सहभागिता जनाएका हुन् । जिल्लामा हुने विकासका काममा राजनीतिक दलको भुमिका रहन्छ । सम्पन्न भएका विकासको काममा राजनीतिक दलका प्रतिनिधिलाई प्रत्यक्ष रुपमा उभियाउँदा झन् जिम्मेवारी बनाउने संदेशसमेत वन कार्यालयको अनुगमनले दिएको छ ।
नेपाली काँग्रेसका सभापति अरुण सिंह राठौर, नेकपा एमालेका जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठ, जसपाका कृष्ण यादवलगायतका नेताहरु वनले सम्पादन गरेको कामको अनुगमन गरे । अनुगमन गरेर राजनीतिक दलका नेताले खुलेर वन कार्यालयको प्रसंशा गरेका छन् । वनले गरेको कामलाई जिल्ला स्थित राजनीतिक दलका सम्पुर्ण नेताहरुलाई ल्याएर प्रत्यक्ष रुपमा देखायो । यस कार्यले हामीलाई झन् जिम्मेवार बनाएको नेताहरुले सुनाएका छन् । वनलाई जोगाउन र वन्यजन्तु मानव बिचको द्वन्द्व न्युनिकरण गर्न वन कार्यालयले सह्रानिय काम गरेको छ । यस कार्यमा आ–आफ्नो स्थानबाट सबैले सघाउँनुपर्ने राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिएका छन् ।
वन कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न गरेको कामको शनिबार सरोकारवालाहरुबाट शनिबार अनुगमन गरिएको छ । वन कार्यालय स्थित नर्सरीमा उत्पादित विभिन्न किसिमका तयारी अवस्थामा रहेका विरुवाको बेर्नाको अवलोकन गरिएको छ । अतिक्रमण नियन्त्रण व्यवस्थापन गरि वनले मधुवन नगरपालिका–२ रजवारा स्थित फर्दङ्गा सामुदायिक वनमा १.५८ हेक्टरमा गरिएको बृक्षारोपण गरेको छ । मानव वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न मधुवन नगरपालिका–२ फर्दङगा सामुदायिक वन रजवारामा ६ सय मिटर जिआई मेस वायर विथ इलेक्ट्रिक फेन्स जडान गरेको छ ।
मधुवन नगरपालिका–१ भलुनीभटुवा सामुदायिक वन टंडुवामा ९ सय मिटर जिआई मेस वायर विथ इलेक्ट्रिक फेन्स जडान गरेको छ । वनले हात्ती प्रभावित मधुवन नगरपालिका–१ छोटकी टंडुवा ओराही सामुदायिक वन स्थित हात्तीको गतिविधि नियाल्नको लागि मचान निर्माण गरेको छ । त्यसैगरी मधुवन नगरपालिका–१ छोटकी टंडुवा स्थित भलुनी भटुवा सामुदायिक वन अन्र्तगत बाँसरोपण तथा सडक बत्ती जडान गरेको छ । बनले जडान गरेको इलेक्ट्रिक फेन्स वन्यजन्तुलाई बस्ती पस्न नदिने भलुनी भटुवा सामुदायिक वनका कोषाध्यक्ष सुरेश नेपालले बताए । ‘नदि किनारमा रोपेको बाँसले नदि कटान र वन्यजन्तुलाई बस्ती प्रवेश गर्न दिदैन’ कोषाध्यक्ष नेपालले भने,‘मेस वायर जडान हुन बाँकी स्थानमा पनि जडान भए बस्ती सुरक्षित हुन्थ्यो ।’
वन कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा एक वडा एक पोखरी कार्यक्रममा ६ वटा सामुदायिक वनमा ६ वटा पोखरी खनाएको छ । बारबर्दिया नगरपालिका–१ सहमति सामुदायिक र वडा नं.९ जनकल्याण सामुदायिक वनमा प्राङ्गारिक मल उद्यम बनाएको छ । विरुवा उत्पादन तथा खरिद, ६ वटा सामुदायिक वनमा २२.४५ हेक्टर वृक्षारोपण र ९ वटा सामुदायिक वनमा ३ सय गोटा बाँस रोपण गरेको तथ्यांक वनले सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष ०७९/०८० मा वन्यजन्तुको आक्रमणबाट ३ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए । ‘३ जना मृतकको परिवारलाई दश लाखको दरले ३० लाख राहत उपलब्ध गराईएको छ’ सहायक वन अधिकृत शर्माले भने,‘त्यसैगरी बन्यजन्तुको आक्रमणबाट ९ जना घाईतेलाई राहत स्वरुप ३ लाख १६ हजार ६ सय ५५ उपलब्ध गराईएको छ ।’ एक वर्षमा मानविय क्षति, पशुधन क्षति, घरगोठ क्षति र अन्नबाली क्षति वापत जम्म रु ४८ लाख १३ हजार १ सय ५५ भुक्तानी गरेको तथ्यांक सार्वजनिक गरे । डिभिजन वन कार्यालयको ८३.४१ प्रतिशत वित्तिय प्रगति रहेको सहायक वन अधिकृत शर्माले जानकारी दिए ।
वर्षभरि सम्पन्न गरेको कामको सरोकारवालाहरुबाट गरिएको अनुगमनले सकारात्मक फिडब्याक दिएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । ‘हाम्रो टिम तत्काल छलफल गर्नेछ’ प्रमुख बिडारीले भने,‘सकारात्मक फिडब्याकले आगामी दिनमा थप सुधार गर्न मद्दत गर्नेछ ।’
डिभिजन वन कार्यालयको अनुगमनमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, सहायक प्रजिअ मोहन प्रसाद अर्याल, जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्ट, समन्वय अधिकारी तथा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, जिल्ला स्थित राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।