बर्दिया, साउन ४ (फरकसमाचार) / नवनिर्मित बाल, अपाङ्गता तथा लैङ्गिकमैत्री शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ । मधुवन नगरपालिका–७ दशरथ वस्तीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई बाल, अपाङ्गता तथा लैङ्गिकमैत्री शौचालय बुधबार हस्तान्तरण गरिएको हो । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह(बी–ग्रुप)को साझेदारी तथा मधुवन नगरपालिकाको समन्वयमा संचालन भईरहेको बाल विवाह न्यूनिकरण परियोजा मार्फत नवनिर्मित शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
बालविवाह न्युनिकरण परियोजना मार्फत बालिकाहरुको गुणस्तरीय शिक्षा, बालविवाहको जोखिम कम गर्न आयआर्जनमा सहयोग, संरक्षण र बिद्यालय स्तरमा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा संस्थाले भुमिका निर्वाह गरिरहेको छ ।
परियोजनाको रु ११ लाख ९७ हजार ४ सय ५७ लागतमा पक्की शौचालय निर्माण गरि हस्तान्तरण गरिएको बाल विवाह न्युनिकरण परियोजनाका प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिए । संयोजक शर्माका अनुसार विस २०७८ साल पौष २१ गते निर्माण कार्य सुरु भई विस २०७९ साल फागुन २९ गते शौचालयको निर्माण कार्य सम्पन्न भएको थियो ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको उपस्थितीमा बुधबार विद्यालयलाई शौचालय हस्तान्तरण गरिएको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाईजर सुनिता चौधरीले जनाईन् ।
परियोजनाको एक वर्षको सहकार्यमा मधुवन नगरपालिका अन्र्तगतका विद्यालयहरुमा सुधारका काम भएको नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘संस्थाको सहयोगमा विद्यालयले बालमैत्री शौचालय पाएको छ, यो सह्रानिय काम हो’ नगर प्रमुख भाटले भने,‘संघसंस्थाको सहयोग र सहकार्य आगामी दिनमा निरन्तर रहिरहोस ।’
लैङ्गिक, अपाङ्गता तथा बालमैत्री शौचालयले विद्यार्थीहरुको शिक्षण सिकाइ, बिद्यालयमा नियमितता र महिनावारी भएको अवस्थामा बिद्यालय छाड्ने संख्यामा कमी आउने विश्वास गरिएको छ । बालबालिका विद्यालयमा नियमित हुँदा बालविवाहको जोखिम पनि कम हुने सहभागिले भनाई राखेका छन् ।