बर्दिया, साउन ९ (फरकसमाचार) / मधुवन नगरपालिकामा बालबालिका संरक्षणको लागि बालकोष संचालन कार्य विधि निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मधुवन नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना, प्लान इन्टरनेशनल नेपाल र बिग्रुपको सहयोगमा बालबालिका संरक्षणको लागि बालकोष संचालन कार्य विधि निर्माण कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको हो ।
मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा कस्ता बालबालिकालाई बालकोषबाट व्यवस्थापन गर्ने व्यापक छलफल गरिएको छ । छलफलको आधारमा बालकोष संचालन कार्य विधिको डाफ्ट निर्माण गरिएको छ । बालकोष संचालनको लागि नीति नियमसहित निर्माण गरिएको डाफ्ट यहि साउनमा कार्यपालिकाबाट पारित गरि संचालनमा ल्याउने निर्णयसमेत गरिएको जनाईएको छ । विषेशगरि अपाङ्ग र अभिभावक विहीन बालबालिकाहरुको बालकोषले संरक्षण गर्नेछ । बालकोष फन्डमा नगरपालिकाको बजेट रहने र पालिका भित्र सुचिकृत हुन आउने गैरसरकारी संघसंस्थालाई नगरपालिकाले सघाउँन अनुरोध गर्ने जनाईएको छ ।
बालकोषले अपाङ्ग र टुहुरा बालबालिकाको तत्काल उद्दार र संरक्षण गर्ने बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् ।
प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा विगत एक वर्ष देखि बाल विवाह न्युनिकरण परियोजना संचालनमा छ । बालबालिका संरक्षणको लागि बालकोष संचालन कार्य विधि निर्माण कार्यशाला गोष्ठीमा मधुवनकी नगर उप–प्रमुख अनिता चौधरी, वडाअध्यक्षहरु र सम्पुर्ण शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।