बर्दियामा ट्राफिकले राडर गनले सवारीको गति निगरानी गर्दै
शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

बर्दिया,साउन १२ (फरकसमाचार)/ सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले राडर गनको सहायताले सवारी साधनको गति निगरानी गर्न सुरु गरेको छ । टाढाबाटै सवारीसाधनको गति निगरानी गर्न ट्राफिक प्रहरीले राडर गनको सहायता लिएको हो । यदि तपाई पनि बर्दियामा सवारी साधन चलाउँदै हुनुहुन्छ भने आवश्य पनि तिब्र गतिमा सवारीसाधन नचालउनु होला । किन भने तपाईहरुले चलाएको सवारीको तिव्र गति ट्राफिक प्रहरीले नियालेको हुन्छ र तपाई पनि ट्राफिक प्रहरीको कारवाहीमा पर्न सक्नु हुन्छ ।

तिब्र गतिमा सवारीसाधन चलाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न सुरु गरेको छ । सवारी साधनको गति मापन गर्ने यन्त्र (राडर गन)को प्रयोगले ट्राफिक प्रहरीले टाढैबाट सवारीको गति थाहा पाउँदा चालकहरु सचेत हुने अपेक्षा गरिएको छ ।

तिब्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना भईरहेको ट्राफिक प्रहरीको ठम्याई छ । तिब्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई कारवाहीको साथसाथै सचेत गराई सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले सवारीसाधनको गति न्युनीकरण गराउन नयाँ प्रविधि भित्राएको छ ।

सवारीसाधनको गति मापन गर्न गत आइतबारबाट बर्दियामा राडर गनको प्रयोग गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक इश्वरी देवकोटाले बताए । ‘ओभर स्पीडका कारण बढी दुर्घटना हुने गरेको पाईन्छ’ ट्राफिक प्रमुख देवकोटाले भने,‘राडर गनको सहायताले सवारी साधनको टाढैबाट स्पीड नियाल्न सक्छौं ।’ राडर गनको सहायताले ७ सय मिटर टाढाबाटै सवारीको गति क्याप्चर गर्न सकिन्छ । राडरको प्रयोगले तिब्र गतिमा सवारी साधन चलाउनेलाई समयमै कारवाही गरि सचेत गराउन सक्छौं ।

६० भन्दा बढी स्पीडमा चलाउने सवारीसाधनका चालकहरुलाई कारवाहीको साथसाथै सचेत गराईएको छ । कारवाहीमा ५ सय देखि १ हजार ५ सयसम्म जरिवाना र तीब्र गतिमा सवारी नचलाउन सम्झाई बुझाई सचेत गरिएको छ । राडर गनको प्रयोग गरि तिव्र गतिमा सवारी चलाउने ४५ वटा साना ठुला सवारीका चालकलाई कारवाही गरिसकेको ट्राफिक प्रमुख देवकोटाले जानकारी दिए । पुर्व पश्चिम राजमार्गको बाँसगढी, भुरिगाउँ र मधुवनको सानोश्री क्षेत्रमा राडरको प्रयोग गरि सवारी साधनको गति मापन गरेका छौं । ‘बाँके ट्राफिक प्रहरीले केही हप्ताको लागि राडर गन हस्तान्तरण गरेको छ’ ट्राफिक प्रमुख देवकोटाले भने,‘केही हप्ता पछि राडर गन बाँके ट्राफिकलाई हामीले फिर्ता गर्नेछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय