गुलरियामा भव्यताकासाथ ताजिया बाबा बिर्सजन
आइतबार, साउन १४, २०८० मा प्रकाशित

बर्दिया, साउन १४ (फरकसमाचार) / गुलरियामा भव्यताकासाथ मोर्हरम पर्वमा राखिएका ताजिया बाबा बिर्सजन गरिएको छ । मुस्लिम समुदायले शुक्रबार साँझ आफ्नो घर आँगनमा राखेका ताजिया बाबा शनिबार साँझ भव्यताकासाथ बिर्सजन गरेका हुन् । मोहर्रम पर्वमा मुस्लिम समुदायले खानाका मिठो मिठो प्रकार बनाई ताजिया राखेको स्थानमा फातिया गराउने चलन छ । घरमा आएका साथीभाई आफन्तलाई खाना खुवाई मोहर्रमको शुभकामना आदान प्रदान गर्ने चलन छ । मुस्लिम धर्मावलम्बीहरुले ताजिया बाबा राखेको ठाउँमा रातभरी जगाराम बस्ने र मासिया गाउँने चलन छ । ताजिया राखेको ठाउँमा रातभरी धुपबत्ती बल्ने र ताजिया बाबा हेर्न आउँने व्यक्तिहरुलाई सिन्नी (प्रसाद) दिने गर्छन ।

मुस्लिम समुदायको पर्वमा हिन्दु धर्मालम्बीहरुको उत्तिकै सहभागिता हुने गरेको छ । ति मध्ये एक हो, मुस्लिम समुदायको मोहर्रम पर्व । मोहर्रम पर्वले हिन्दु र मुस्लिम समुदायबिच आपसी सद्भाव कायम गरी भाईचारा बढाउने विश्वास छ । गुलरियाका कतिपय हिन्दु धर्मालम्बीहरुले मुस्लिम समुदाय जस्तै आफ्नै घरमा ताजिया राख्ने गर्छन । हिन्दु धर्मालम्बीहरुले घरमा ताजिया राख्दा बाबासंग मागेका मन्नत पूरा हुने र दुख हट्ने विश्वास छ । ताजिया बाबा शनिबार बिर्सजनको लागि कर्बला लैजादै गर्दा सबै समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

गुलरिया गाउँमा राखेका ताजिया बाबालाई बजारको परिक्रमा गराई बसपार्क नजिक रहेको कर्बलामा र बजार भन्सार रोड क्षेत्रमा राखेका ताजिया बाबालाई सुरजपुर नजिकको कर्बलामा बिर्सजन गरिएको हो । ढोल बजाउँदै ताजिया बाबा बिर्सजनका लागि लैजादै गर्दा जोकोहीको ध्यानाकर्षण भएको थियो । विभिन्न टोलमा राखिएको ताजियाहरुलाई एउटै स्थानमा राखी ताजिया मिलन गराएका थिए ।

अल्लाहका दुत ईमामे हुसने युद्वका क्रममा ईराकको कर्बलामा शाहदत प्राप्त गरेको सम्झनामा मोर्हरम पर्व मनाईने गरेको गुलरिया नगरपालिका–७ का अफजल खानले बताए ।

ताजिया बाबा बिर्सजनमा सहभागि मुस्लिम समुदायका युवाहरुले छातीमा ब्लेड हानेर अल्लाहका दुतलाई कुर्बानी दिने परम्परा छ । बाबालाई कर्बला लैजादै गर्दा बाटोमा युवाहरु लाठी खेलेका थिए । ताजिया बाबा बिर्सजन भएपछि कर्बलाको माटो लगाएपछि छातीमा ब्लेडले काटेको घाउ सन्चो हुने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय